परीक्षामा फर्जी विद्यार्थी

केराबारी । मोरङको केराबारी गाउँपालिकाको वडा नंं ८ स्थित एक विद्यालयले वार्षिक परीक्षामा फर्जी विद्यार्थी सहभागी गराएर परीक्षा सञ्चालन गरेको पाइएको छ ।

वडा नं. ८ को आमजुंगी आधारभूत विद्यालयको गत फागुन २९ गते देखि सञ्चालित कक्षा ८ को परीक्षामा फर्जी विद्यार्थी सहभागी छन् ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यालयका १४ जना विद्यार्थी रहेकोमा एकजना विद्यार्थी थप गरी १५ जनाले परीक्षा दिइरहेको पाइएको छ । सिम्बोल नं. ७००९०२३ मा परीक्षा दिइरहेका दिप्सन कार्की नाम गरेका विद्यार्थी आमजुंगी आधारभूत विद्यालयमा भर्ना नै नभएको पाइएको छ ।

उनी कुन स्कूलका हुन् र कहाँबाट परीक्षा दिन त्यहा आइपुगे भन्न बारेमा कुनै शिक्षकलाई थाहा नभएको बताएका छन् । दिप्सन कार्की गत वर्ष कक्षा ७ सम्म सार्वजनिक मावि केराबारी ७ मा अध्ययन गरेको र त्यसपछि स्थानान्तरण भई विराटनगर गएका थिए ।

कुनैपनि विद्यार्थी ७५ प्रतिशत हाजिरीका आधारमा मात्र परीक्षामा सहभागी हुन पाउने प्रावधान छ । विद्यालयमा भर्ना नै नभएका विद्यार्थी कसरी परीक्षामा सहभागी भइरहेका छन् भन्नेबारे आफूहरु अनभिज्ञ रहेको एक शिक्षकले बताए ।

विद्यालयका प्रअ रेवतीप्रसाद मिश्रले विद्यार्थीले विरामी भएका कारण परीक्षामा सहभागी गराइदिनु भन्ने अनुरोध आएकोले रजिष्ट्रेसन भराई परीक्षामा सहभागी गराएको बताउनुभयो ।

बुधबार, ०५ चैत, २०७६, रातीको ११:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर