ओखलढुंगा । जातीय पहिचानका लागि ओखलढुंगाको एक सामुदायिक विद्यालयले जातीय पोसाकलाई अनिवार्य गरेको छ ।
खिजीदेम्बा गाउँपालिका ९ पात्लेको जनता आधारभूत विद्यालयले जातीय पहिचान संरक्षणका लागि शेर्पा जातिको पोशाक अनिवार्य गरेको हो ।
पश्चिमा संस्कृतिको नक्कलका कारण बालबालिकाले जातीय भेषभूषालाई बिर्सन थालेको भन्दै विद्यालय तहमा जातीय पोसाकलाई अनिवार्य गरिएको हो । जातीय तथा स्थानीय पहिचानलाई संरक्षण र संवद्र्धन गर्न विद्यालयले हप्ताको २ अनिवार्य रुपमा शेर्पा जातिको पहिचान झल्कने पोसाक लगाउनुपर्ने नियम बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।
विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले मंगलबार र बुधबार शेर्पा जातिको पहिचानयुक्त पोसाक अनिवार्य लगाउनुपर्ने नियम राखिएको छ । पोसाकको व्यवस्था व्यक्तिगत लगानीबाटै गर्नुपर्नेछ । यो वर्ष भने करिब ३ लाख ५० हजार लागतमा पोसाक खरिद गरि वितरण गरिएको छ ।
शिक्षकहरूलाई पनि आइतबार र सोमबार नेपाल सरकारले तोकेको पोसाक, मंगलबार र बुधबार विद्यालयले तोकेको पोसाक तथा बिहीबार र शुक्रबार खेलकुद पोसाक अनिवार्य गरिएको छ । कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १ सय जना विद्यार्थी र ९ जना शिक्षक छन् । यीमध्ये अधिकांश विद्यार्थी शेर्पा समुदायकै छन् ।