विराटनगर । विराटनगरमा जारी अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका र ग्रिनल्याण्ड कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा निहारिका कलेजले पथरीको रेडस्टार माविलाई ६–० गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै हिमालय दर्शन कलेजलाई ४–१ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको लिग चरणअन्तर्गत समूह ‘ए’ तर्फका सम्पूर्ण खेल सम्पन्न भएका छन् । लिग चरणमा निहारिका पहिलो र ग्रिनल्याण्डले दोस्रो स्थान बनाउँदै अन्तिम चारमा स्थान सुरक्षित पारेका हुन् ।
प्रतियोगिताको समूह ‘ए’तर्फ ग्रिनल्याण्डको ७, निहारिकाको ७, रेडस्टारको ३ अंक रहेको छ भने हिमाल दर्शन कलेजले कुनै अंक जोड्न सकेको छैन । समूह ‘बी’तर्फ महेन्द्र मेमोरियलको ४, कान्तिपुरको ३, जनप्रियको ३ र कोसी मल्टिपलको १ अंक रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
लिग चरणको अन्तिम खेलअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको कोसी मल्टिपल कलेज र रंगेलीको जनप्रिय मावि तथा दोस्रो खेल विराटनगरको कान्तिपुर कलेज र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।