प्राविधिक शिक्षालयलाई जग्गा दान

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।

स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा जग्गा रजिष्ट्रेशन पास गरिदिनुभएको हो ।

गाउँपालिका केन्द्र मुक्लीमा सञ्चालन हुने तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका स्थापित शिक्षालयलाई जगतबहादुरले निःशुल्क जग्गा प्रदान गरेको गाउँ कार्यपालिका सदस्य बुद्धिराज राईले जानकारी दिनुभयो । शिक्षालय सञ्चालन गर्न प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् (सिटिईभिटि)बाट सम्बन्धन प्राप्त भएको छ ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरगाउँमै प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना भएको शिक्षालयलाई निःशुल्क जग्गा उपलब्ध गराउनु आफ्नो दायित्व समेत भएको जग्गादाता जगतबहादुरले बताउनुभयो । गाउँका सर्वसाधरण नागरिकका छोराछोरीले शिक्षा लिने मात्रै नभए गाउँको विकासका लागि आफूले सात लाख रुपैयाँ मूल्य बराबरको साढे सात रोपनी जग्गा निःशुल्क दान गरेको उहाँको भनाइ छ ।

सस्तो शुल्कमा इन्जिनियर उत्पादन गर्ने गाउँपालिकाको योजना अनुसार शिक्षालय स्थापना गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०१:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर