विराटनगर । प्रदेश–१ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको संगमस्थलमा रहेको भेडेटारबाट बढी लाभान्वित भने सुनसरीभन्दा धनकुटा नै देखिन्छ । भौगोलिक अवस्थिति र विकासक्रम हेर्दा धनकुटा जिल्लातर्फ विकास निर्माण राम्रो भएकोले पर्यटकको चहलपहल पनि उतै छ ।
शनिबार भने धरान उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मानबहादुर राईले आशा तरङ्गित भएको सुनाउनुभयो । कारण थियो, भेडेटारमा सञ्चालनमा आएको साहसिक खेल जीपलाईन । राईले भौगोलिक विकटता र स्थानीयले भोग्दै आएका समस्याले धराने अनुभूति नभइरहेका बेला साहसिक खेलले विकासको आशा पलाएको बताउनुभयो ।
पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकाको ४ नम्बर वडा बनेको सो क्षेत्रका जनताले नयाँ धराने महसुश गर्न नसकिरहेका बेला भएको पर्यटन प्रवद्र्धनको यस कदमले उत्साही स्थानीयलाई उत्साही बनाएको छ । ‘डोकामा इस्कुस र मुला मात्रै बोक्नुपर्ने हाम्रा लागि धराने बन्दै गएको अनुभूति भएको छ,’ वडाअध्यक्ष राईले भन्नुभयो, ‘अति विकट यस क्षेत्रका जनतालाई विकास चाहिएको छ, जुन पुरा गर्न प्रदेश र संघीय सरकारकै सहयोग आवश्यक छ ।’
कोशी राजमार्ग बाहेकका अधिकांश कच्ची सडक रहेको वडामा पर्याप्त मात्रामा मोटर चल्ने सडकसमेत नभएको वडाअध्यक्ष राईले बताउनुभयो । वल्र्डवाईड नेपाल ग्रुप प्रा.लि.ले ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको जीपलाईनलको प्रदेशका मुख्यमन्त्री शेरधन राईले शनिबार उद्घाटन गर्नुभयो ।
साहसिक खेल जीपलाईन खेल्न ४० देखि ४५ सेकेण्डको समय लाग्छ । सुनसरीको भेडेटारबाट सुनसरीकै देवीथान डाँडासम्मको ६ सय ५० मिटरको दुरीसम्म सञ्चालन हुने जीपलाईनमा क्लासिक, सुपरम्यान र कपल गरि तीनवटा प्याकेज रहेका छन् । जसमा क्लासिकका लागि १ हजार २ सय, सुपरम्यानका लागि १ हजार ५ सय र कपल(जोडी) का लागि २ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
जीपलाईनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश १ मुख्यमन्त्री राईले पर्यटनको उर्वर थलो रहेको भन्दै यसलाई व्यवस्थित र विकसित गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका निम्ति निजी क्षेत्रबाट गरिने यस्ता लगानीले ठूलो योगदान पु¥याउने बताउनुभयो ।
होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्जालीले जीपलाईन साहसिक खेलले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसरी नै नयाँपन दिन सकिए मात्र पर्यटकलाई आकर्षित गर्दै टिकाउन सकिन्छ ।’
सञ्चालक केदार थापाले जीपलाईनमा प्रयोग गरिएको सम्पूर्ण सामाग्री अन्तर्राष्ट्रिय मापदण्डका रहेको दावी गर्दै पूर्ण सुरक्षित रहेको बताउनुभयो । साहसिक खेलमा रुची राख्नेहरुका लागि यो खेल सस्तो र लोकप्रिय बन्दै गएको उहाँको भनाइ छ ।
जीपलाईन उद्घाटन समारोहमा धरान नगरपालिकाका प्रमुख तिलक राई उपप्रमुख मञ्जु भण्डारीसहित स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सो अवसरमा उपप्रमुख भण्डारी जीपलाईन खेलमा सहभागीसमेत हुनुभयो ।