कांग्रेसका सन्त नेता प्रदिप गिरीसँग केही समयअघि मैले एउटा प्रश्न गरें । एउटा समाजवादी पार्टीको जिल्ला नेताको परिवारमा भएको विवाहमा काँग्रेसका सभापतिसहित केन्द्रीय समितिको पूर्ण बैठक नै बस्न पुग्नेगरी नेताहरुको भिड किन आएका होलान् ? उहाँले भन्नुभयो, ‘जब कुनै पार्टीको जनतासँग जाने नीति, एजेण्डा र कार्यक्रम हुदैनन्, त्यसपछि नेताहरु विवाह, व्रतवन्ध, गुन्यूचोली, मलामीदेखि समवेदना दिनसम्म घर खोजी–खोजी जाने गर्छन् ।’
यो रोग काँग्रेसमा मात्र हैन, सबै पार्टीमा छ । त्यसले के बुझाउँछ भने पार्टीहरुसँंग अहिले जनतासँग जाने एजेण्डा छैन । जब दलहरुसँग एजेण्डा हुदैनन्, तब दलले गर्ने कार्यक्रममा जनसहभागिता पनि कम हुन्छ । तर, विवाह, भोज, ब्रतवन्ध जस्ता कार्यक्रममा जनताको बाक्लो उपस्थिति हुन्छ । त्यसैले पछिल्लो समय नेताहरु निम्ता गर्न लगाएर भए पनि लर्को लाग्ने गरेका हुन् । धेरै समयदेखि मेरो मनलाई बेचैन बनाइरहेको प्रश्नको सहि उत्तर मैले पाएजस्तो लाग्यो ।
हुन पनि नेता मात्र हैन, संघदेखि प्रदेशका मन्त्रीहरुको लर्को आजभोलि गुन्यूचोलीदेखि ब्रतबन्ध र रुद्रीपुजामा समेत देखिन्छ । नहोस् पनि किन ? २ वर्षदेखि पार्टी एकीकरणको भुतले नेकपालाई छोडेको छैन । यो पार्टीमा संगठनको चिन्ता भन्दा पनि समूहको चिन्ता बढि देखिन्छ । नेकपाका नेताहरु संगठन विस्तरमा भन्दा आफ्नो झुण्ड विस्तारमा व्यस्त छन् । तत्कालीन नेकपा एमालेका टोल कमिटीसमेत थिए । माओवादीका कुरै नगरौं, नाम हैन नम्बरले कार्यकर्ता चिन्ने माओवादी नेकपा भएपछि कोदो र तोरी छुट्याउनसक्ने अवस्थामा छैन । बल्लबल्ल गठन भएको नेकपाको प्रदेश कमिटीको बैठक पनि कोरोनाको शिकार बन्यो । विचरा काँग्रेसमा ४०÷६० को रोग कोरोना जस्तै छ । पार्टी संगठन गौण छ । एउटाले आयोजना गर्ने अर्कोले बहिष्कार गर्दैमा फुर्सद छैन ।
त्यसो त सबै पार्टीका कार्यकर्ताहरुलाई पनि अचेल सजिलो छ । संगठन गर्न गाउँतिर जानै पर्दैन । नेता आउँदा माला लिएर एयरर्पोट धायो भने मागेको पाइहालिन्छ । कुरा सहि पनि हो सत्य युगमा त पृथ्वी परिक्रमा गर्ने हिँडेका कुमारले हैन शिव पार्वतीलाई नै पृथ्वी मानेर परिक्रमा गर्ने गणेशकै जित भएको थियो । यो त झन कलियुग । नेताको वरिपरी घुमे भइगो नि, संगठन गर्ने कष्ट किन पो गर्नु प¥यो र !
अर्कोतिर अचेल विवाह, व्रतबन्ध, गुन्यूचोली, पुजा, पुराण, भोजभतेर मात्र हैन, मलामीदेखि समवेदना दिन जानेसमेत फेसन जस्तै भएको छ । त्यसमा पनि घर आँगनमा आएको सिंहदरवारले त झनै सवारी साधन पार्किङमा मात्र हैन बोलाउनेसँग भेट्न पनि मुस्किल हुन थालेको छ । सार्वजनिक स्थलमा हुने जस्तासुकै साना कार्यक्रम होस्, त्यहाँ झण्डावाला गाडी नपुगेको हुदैन । चिया, रोटीदेखि मःम पसलसमेत उद्घाटन गर्न मन्त्रीज्यूहरुको लर्को लागेका समाचार पढ्न पाइन्छ । तर, मन्त्रीज्यूहरुलाई त्यतिले मात्र पुगेको छैन । अचेल विराटनगरतिर हुने व्रतबन्ध, गुन्यूचोली, पुराणदेखि सत्यनारायणका पुजासम्ममा प्रदेशका मुख्यमन्त्रीदेखि सबै मन्त्रीहरु मात्र हैन, केन्द्रीय सरकारका मन्त्रीहरुसमेत लाइनमा भेटिन्छन् । सुरक्षागार्डसहित झण्डावाला गाडीमा क्याविनेट बैठक नै बस्न पुग्नेगरी मन्त्रीज्यूहरु उपस्थित हुन्छन् । लाग्छ, सिंहदरवार घरआँगनमा आयो भन्थे, यही रहेछ ।
हो, आफ्नो घरमा कुनै पनि कार्जे गर्दा आफ्न्त र आफूले चिनेजानेकाहरुलाई निम्ता अवश्य सबैले गर्छ । तर, कस्ता कार्यक्रममा जाने र कस्तामा नजाने भन्ने हेक्का मन्त्रीहरुलाई हुनुपर्छ । हाम्रा मन्त्रीहरुका लागि यो प्रदेशका हरेक नागरिक समान हुनुपर्छ । हुने खानेहरुकोमा सबै पुग्ने गर्छौ । हुँदाखानेहरुकोमा जानेहरुको संख्या कम हुन्छ । एकपटक सम्झनु होस् त ! के तपाईका लागि प्रदेशका सबै जनता बराबर हैनन् ? के तपाई सबैकोमा समवेदना दिन पुग्नुभएको छ ? यदी सबैका घरमा हुने व्रतबन्धमा तपाई पुग्न सम्भव छ ? यदि छैन भने पैसा र पहुँचका आधारमा सम्बन्धलाई हेरिनुहुन्न भन्ने हो ।
तपाईहरुलाई थाहा छ । तपाई कुनै व्यक्तिको घरमा सम्बन्धका आधारमा गईराख्दा त्यहाँ पनि राज्यको पैसा खर्च भइरहेको छ । अनि अर्को कुरा पनि थाहा होला, त्यो पैसा हामी जनताले गाँस काटेर तिरेको करबाट उठेको हो । तपाई कुद्दा गाडीmे खाने तेल मात्र हैन, त्यसको मर्मतको महँगो विलमा पनि हुँदाखानेहरुकै गाँस काटिएको पैसा छ । एक पटक सोच्नुहोस् त ! तपाईको पिठ्यूँ पछाडी उभिएका सुरक्षाकर्मी ? यदि त्यसले त्यहाँ उभिनु नपथ्र्यो त उ कहीं सुरक्षाका लागि खटिएको हुन्थ्यो । यदि त्यस्तो हुन पाए अरु निर्मलाहरु बलात्कार र हत्याबाट जोगिन्थ्ये । त्यति मात्र हैन, यदि उ सार्वजनिक स्थानमा सुरक्षाका लागि जान्थ्यो त तपाईकै प्रदेशवासीको घर चोरिनबाट बच्थ्यो होला । हुन त तपाईको सुरक्षाको चिन्ता पनि नभएको हैन । अनुरोध यति मात्र हो, पाएको अधिकारलाई दुरुपयोग नगरीदिनुहोस् ।
तपाईका स–साना गल्तीले व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुन्छ । तपाईको बद्मानीले हाम्रो संघीयता र प्रदेशमाथि गिद्धेनजर लाग्नसक्छ । अनि हामीले ल्याएको सिंहदरवारले झण्डावाला गाडी र मन्त्रीलाई मात्र हाम्रो घरआगँनमा ल्याएको हो कि ? विकास र समृद्धि आउनु पर्ने हो । आगे तपाईको मर्जी ! मन्त्रीज्यू ।
लीला जी , नमस्कार !
गुन्युचोलीमा भेटिने हाम्रा मन्त्री ज्युहरू नामक लेख धेरै धेरै राम्रो र रुचिकर लाग्यो।
फेरि पनि यस्तै रुचिकर र सामयिक लेखहरूको अपेक्षा राखेको छु।