विराटनगर । विराटनगर र आसपासको क्षेत्रको विद्युत आपुर्तीमा सुधार ल्याउने उद्देश्यले मोरङको कटहरीमा निर्माण गरिएको सबस्टेसन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले मंगलबार राति ९ बजेटबाट सबस्टेसन नियमित रुपमा सञ्चालनमा ल्याएको हो ।
सबस्टेसनको निर्माण कार्य सम्पन्न भएपनि ग्रामथान गाउँपालिकाको गिदनीयामा प्रशारणलाईन निर्माण सम्पन्न नहुँदा लामो समयसम्म प्रशारण लाइन विस्तार हुन सकेको थिएन । दुहबी–कटहरी ३३ केभी प्रशारण लाईन निर्माणका क्रममा गिदनीयाका स्थानीयले अवरोध गरेका थिए । विद्युत प्राधिकरणले सो क्षेत्रमा अण्डरग्राउण्ड गरेर प्रशारण लाइन विस्तार गरेको थियो ।
प्रशारणलाइनको काम सम्पन्न भएसँगै सबस्टेसन चार्च गर्ने काम सम्पन्न भइसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले जानकारी दिएको छ । फागुन १२ गतेदेखि परीक्षणका रुपमा आंशिक सञ्चालनमा रहेको सबस्टेशन मंगलबार राति ९ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको प्राधिकरण विराटनगर वितरण शाखा प्रमुख राजिव सिंहले जानकारी दिनुभयो ।
विद्युतको भोल्टेजस्तर सुधार एवम् माग अनुसारको विद्युत वितरण गर्नको लागि प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सबस्टेसन निर्माण गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अनवरत पहलपछि गिदनियाको अबरोध हटेर प्रशारणलाईन निर्माण सम्पन्न भएको हो ।
प्रशारणलाईन निर्माणमा विराटनगरका उद्योगी व्यवसायी तथा यससँग सम्बन्धित सबै उद्योग वाणिज्य संघहरुले सहजिकरणको भूमिका निर्वाह गरेका थिए । विराटनगरमा विद्युत भोल्टेजमा समस्या आएपछि यहाँका उद्योगी व्यवसायीहरुले कटहरीमा सबस्टेसन निर्माण गर्न पटक–पटक सरकारसँग माग गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण, आयोजना ब्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत रहेको सबस्टेसन र लाईन निर्माणको कार्य भारतीय निर्माण कम्पनी ए टु जेड ईन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कम्पनी जयदुर्गे इन्जिनियरिङ्ग र त्रिपुरेश्वर कण्डक्टर कम्पनी गरेको हो । दुहबी ग्रिड सबस्टेसनदेखि कटहरीसम्म १७.२ किलोमिटर ओभरहेड लाईन र ५.५ किलोमिटर ३३ के.भी. भुमिगत लाईनसमेत २२ दशमलव ७ किलोमिटर लामो प्रशारण लाईन निर्माण गरिएको छ ।
कटहरी सबस्टेसन सञ्चालनसँगै विद्युत भोल्टेलको गुणस्तरमा उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ । वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना विराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाले कटहरी सबस्टेसन ३३ के.भी. प्रशारणलाईनको परीक्षण प्रशारण सफल भएको जानकारी दिनुभएको छ । उहाँले नो लोडमा सबस्टेशन सञ्चालन गरेको जानकारी दिनुभयो । त्यहाँबाट ११ के.भी. फिडरमार्फत विराटनगरतर्फ वितरण प्रणाली मिलाइएको छ ।
बुढिगंगामा अवरोधको प्रयास
कटहरी सबस्टेसन सञ्चालनको अन्तिम तयारी भइरहेको बेला मोरङको बुढिगंगा गाउँपालिकाका स्थानीयले प्रशारणलाईन भूमिगत गर्न माग गर्दै विरोध गरेका छन् । लाईन बिस्तारका क्रममा अवरोध नगरेका स्थानीयहरुले मंगलबार वडा नम्बर ५ को कार्यालय घेराउ गरेका थिए ।
गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा स्थानीय नेताहरुसमेतले जनताको माग सुनुवाई गरेर मात्र प्रशारण लाईन सञ्चालन गर्न दवाव दिएका थिए । वडा नम्बर ५ का वडाध्यक्ष रमेश खनालले भन्नुभयो ‘बुढिगंगा स्थित पोठिया टोलका १३ घरको छानामाथिबाट प्रशारण लाईन विस्तार गरिएको छ र जनताहरुले लाईन भूमिगत गर्न माग गरिरहेका छन्, हामीले प्राधिकरणलाई लाईन भूमिगत गर्न पत्र पठाएका छौं ।’
प्राधिकरणले स्थानीयको आग्रहलाई बेवास्ता गर्दै रातिको समयमा सुरक्षाकर्मी राखेर लाईन बिस्तारको काम सम्पन्न गरेको थियो । प्रशारण लाईनलाई अवरोध गरिरहेका केही रुखहरु यसबीचमा काटिएको थियो । मंगलबार पोठिया टोलमा एउटा खजुरको गाछी कााट्न खोज्दा स्थानीयले विरोध गरेका थिए ।
प्रशारण लाईन परीक्षणका क्रममा खजुरको रुखले छोएका कारण तार पड्किएको थियो । त्यसपछि स्थानीयले लाइन भूमिगत गर्न माग गरेका हुन् । स्थानीयको विरोध भएपनि प्राधिकरणले मंगलबार रातिबाटै प्रशारण लाईन सञ्चालन गरेको हो ।
प्राधिकरणले बुधबारबाट दुहबी कटहरी प्रशारण लाईन र कटहरी सबस्टेसन सञ्चालन गर्ने भन्दै तार नछुन आग्रहसहितको सूचना जारी गरेको छ ।