उर्लाबारी । नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ वर्षीय लालबहादुर राई (राई दाई) को उपचारमा सहयोग जुट्न थालेको छ ।
आर्थिक अभावका कारण उपचार नपाएका राईलाई उर्लाबारीका युवा व्यवसायी प्रकाश रोक्काले नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले पीडित राई र उहाँकी पत्नी अम्बिका राईलाई घरमै पुगेर सहयोग प्रदान गर्नुभएको हो ।
आर्थिक अवस्था कमजोर भएका राई आफन्तको शरणमा बस्दै आउनुभएको छ । जनमन गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएका राई एक वर्षदेखि नसा रोगका कारण थलिनुभएको छ । घरमुली लालबहादुरको यतिबेला हात, खुट्टा चल्न छोडेका छन् । छोरीको घरमा बस्दै आउनुभएका लालबहादुरको उपचारका लागि राई परिवार सहयोगी हातको खोजीमा छ ।
ऋणपान गरी लालबहादुरको उपचारमा ५० हजार रुपैयाँ खर्च गरिसकेको पत्नी अम्बिकाले बताउनुभयो । जनमन गर्ने मान्छे नै बिरामी भएपछि समस्या सिर्जना भएको र उपचार गर्न नसकेको उहाँको भनाई छ ।
लालबहादुरको उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी, कोशी अस्पताल विराटनगरमा लगिएपनि निको नभएको र थप उपचार गर्न सक्ने हैसियत नभएकाले घरमै राख्न बाध्य भएको परिवारको भनाइ छ । वर्षौदेखि अरुको जग्गामा बस्दै आएका राई परिवारलाई जग्गाधनीले हटाएपछि आफन्तको शरणमा पुगेका थिए ।
फोटो




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।