उर्लाबारी । नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ वर्षीय लालबहादुर राई (राई दाई) को आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।
आफन्तको शरणमा जनमन गरेर बस्दै आएका लालबहादुर एक वर्षदेखि नसा रोगका कारण थलिनुभएको हो ।
मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएका घरमुली लालबहादुरको यतिबेला हात, खुट्टा चल्न छोडेको छ । छोरीको घरमा बस्ने उहाँको उपचारका लागि राई परिवार सहयोगी हातको खोजीमा छ । ऋणपान गरी लालबहादुरको उपचारमा ५० हजार रुपैयाँ खर्च गरिसकेको पत्नी अम्बिका राईले बताउनुभयो ।
मजदुरी गर्ने मान्छे नै बिरामी भएपछि समस्या सिर्जना भएको र उपचार गर्न नसकेको परिवारको भनाइ छ । गहभरी आँसु पार्दै अम्बिकाले भन्नुभयो–‘ औषधि किन्ने पैसा पनि छैन, अब के गर्ने ?’ लालबहादुरको उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी, कोशी अस्पताल विराटनगरमा लगिएपनि निको नभएको र थप उपचार गर्न सक्ने हैसियत नभएकाले घरमै राख्न बाध्य भएको उहाँले बताउनुभयो ।
वर्षौदेखि अरुको जग्गामा बस्दै आएका राई परिवारलाई जग्गाधनीले हटाएपछि आफन्तको शरणमा पुगेका थिए । राई परिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले उहाँलाई सहयोग जुटाएर उपचार गर्नुपर्ने स्थानीय नवराज कटुवालले अपिल गर्नुभएको छ ।