विराटनगर । क्यान्सर पीडित पत्रकार कमल पौडेलको सहयोगका लागि नाटकको च्यारिटी–शो हुने भएको छ ।
विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादकसमेत रहेका पौडेलको उपचारार्थ विराट आदर्श साहित्य मञ्चले नाटकको च्यारिटी–शो गर्न लागेको हो ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पत्रकारिता विषय अध्यापन गराउँदै आएका पौडेललाई ब्लड क्यान्सर देखिएपछि काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँलाई माघ २८ गते ब्लड क्यान्सर देखिएको थियो । पौडेलको उपचारका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएको छ ।
उपचारमा सहयोग पु¥याउनका लागि विद्यार्थीहरूको संस्था विराट आदर्श साहित्य मञ्चले ‘बहुलाकाजीको सपना’ नाटकको च्यारिटी शो आयोजना गर्ने भएको हो । फागुन २४ गते नाटकको दुई शो मञ्चन गरिने मञ्चका अध्यक्षसमेत रहेका कटवाल दीपकले जानकारी दिनुभयो ।
विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा दिउँसो १ बजे र अपराह्न ४ बजे पौडेलको उपचारार्थ नाटकको च्यारिटी–शो हुनेछ । नाटकका लागि ५ सय र २ सय दरका टिकट राखिएको छ ।