सुकुम्बासीका टहरामा डोजर चल्यो

विराटनगर । विराटनगर–१ पोखरिया भट्टाचोकमा सडक क्षेत्रमा बनेका सुकुम्बासीका घर–टहरा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

महानगरपालिकाले सार्वजनिक जग्गामा ३५ वर्षअघि बनाइएका मोहम्मद नसिर, जमिल अन्सारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको घरटहरा भत्काएको हो ।

अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक–पटक सूचना गरेपनि अटेल गरेपछि बल प्रयोग गर्नुपरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताउनुभयो । महानगरले दिएको अल्टिमेटमलाई बेवास्था गरेपछि डोजर प्रयोग गरेर अतिक्रमित भएको सरकारी जमिन संरक्षण गरेको महानगरको भनाइ छ ।

टहरा भत्काउन पुगेको टोलीलाई स्थानीय बासिन्दाले अवरोधको प्रयास गरेका थिए । त्यसक्रममा नगर रक्षक र प्रहरीको टोलीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा थप मद्दतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको उत्तरतर्फ सार्वजनिक जग्गामा बनाइएका घर भत्काइएको हो ।

सुकुम्बासीले बनाएका टहरा पछाडि व्यक्तिको जग्गा रहेकोले उनीहरुको योजनामा घरटहरा भएकाइएको पीडितहरुले आरोप लगाएका छन् । सार्वजनिक जग्गामा सुकुम्बासी बसिदिएपछि पछाडिका घरसम्म पुग्ने बाटो नहुँदा अहिले सुकुम्बासीलाई घरबारविहीन बनाइएको स्थानीयय जय कामतले दावी गर्नुभयो । स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गामा बसेका सुकुम्बासी परिवारलाई नहटाएको तर सो क्षेत्रका सुकुम्बासीलाई कुनै विकल्प नदिएको भन्दै आपत्ती जनाएका छन् ।

सडकमा पर्ने डेढ कट्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए । भत्काइएको घर नजिकै करिब एक सय बढी सुकुम्बासी परिवार टहरा बनाएर बसेका छन् । उनीहरुलाई भने हटाइएको छैन । कुनैपनि विकल्प नदिइकन घर–टहरा भत्काएपछि बिचल्नी भएको उनीहरूको गुनासो छ ।

टहरा भत्काएपछि ६२ वर्षीया बीबी हसिना खातुनले अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताउनुभयो । ३५ वर्षदेखि बसेको स्थानबाट हटाएपछि दुःख पाएको उहाँको भनाइ छ । आफूहरूलाई विकल्प दिएर अन्यत्र बसोबासको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगर कमिटीका अध्यक्ष बुद्धिमान लिम्बूले भूमिहिन सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनु पर्ने, हटाउनुअघि नै सुकुम्बासीलाई पुर्नवासको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको ०९:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर