पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्रताका साथ विकासको काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
आइतबार पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भूमिगत कालमा आपूm हिँडेको क्षेत्र भएकोले विकासमा प्राथमिकता दिने प्रतिबद्धतासमेत जनाउनुभयो ।
झण्डै ५० वर्षअघि आफू यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःख अन्त्य गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना जस्तो ठूलो आयोजना निर्माणलाई प्राथमिकतामा राखेर काम थालेको जानकारी दिनुभयो । विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीका विषयमा सरकारले ध्यान दिएको बताउँदै उहाँले खानेपानी अयोजना बन्दा महिलाको दुःख अन्त्य हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा खानेपानीमन्त्री विना मगरले सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रयत्नशील भएको बताउनुभयो । खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलेसमेत धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण सुरु भई हालै सञ्चालनमा आएको यासोक सुक्खाक्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको पनि उद्घाटन गर्नुभयो । कुम्मायक–१ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो ।