विराटनगर/ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले कानूनहरू बनाउन ढिलाई गरिरहेको बताउनुभएको छ ।
संघीयतालाई कार्यान्वयन गर्न केही कानून आएको भएपनि यतिले मात्र नपुग्ने भएकोले संघीय सरकारले कानूनहरू चाँडो बनाउनुपर्ने यादवको भनाइ छ ।
प्रेस नेपाल मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयताको विरूद्धमा संघीय सरकार जाने आशंका उत्पन्न भएको बताउनुभयो । ‘संघीयतालाई बलियो बनाउन सबैभन्दा पहिला कानून बनाउनु पर्दछ,’ उहाँले भन्नुभयो, ‘कानूनको अभावमा प्रदेशहरूले गर्नुपर्ने काम कारवाही गर्न सकेको छैन । यसलाई चाँडै अन्त्य गरि संघीयतालाई कार्यान्वयन गर्न आवश्यक कानून निर्माण गर्नुपर्दछ ।’
कानूनविना प्रदेशहरू निष्प्रभावित बन्दै गएको ययादवले बताउनुभएको छ । केही व्यक्ति संघीय प्रणालीलाई निस्तेज बनाउनेतिर लागेको आरोप लगाउनुभयो । प्रदेशहरू अधिकारसम्पन्न बनाउन सकेमात्र राष्ट्र निर्माणमा प्रदेशहरूको भूमिका देखिने उहाँले बताउनुभयो ।
संघीय सरकारको पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादवले सम्झौताको आधारमा समाजवादी पार्टी सरकारमा गएकोले कार्यान्वयन नभएपछि बाहिरिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले सहमति अनुसार संविधान संशोधन नगरेपछि पार्टी सरकारबाट बाहिरएको उहाँले बताउनुभयो । सरकारबाट बाहिरिएपनि संविधान संशोधन र संघीय गणतन्त्रलाई संस्थागत गर्ने प्रयास सदनबाट निरन्तर जारी रहने अध्यक्ष यादवले बताउनुभयो ।
सरकारको नारा ‘सुखी नेपाली, समृद्धि नेपाल’ भन्ने रहेको भएपनि व्यवहार हेर्दा दुःखी नेपाली र दरिद्र नेपाल बनाउने जस्तो भएको यादवको भनाइ छ । अध्यक्ष यादवले सरकारले ल्याएको केही विधेयकहरूले निरंकुशतातर्फ लाग्न लागेको आशंका उत्पन्न भएको बताउनुभयो ।