विराटनगर, ३ फागुन
प्रदेश १ सरकारले ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्य रुपमा मनाउने भएको छ । नागरिकसम्म पुगेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।
प्रदेश मूल समारोह समितिका अध्यक्ष तथा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सचिव संयोजक रहने गरी समारोह व्यवस्थापन उपसमिति तथा विभिन्न उप–समिति पनि निर्माण गरेको छ ।
समितिले फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने, फागनु ७ गते बिहान ७ बजे रोडशेष चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गर्ने र मूलसमारोहमा परिणत हुने तथा फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय गरेको छ ।
प्रजातन्त्र दिवसकै अवसरमा धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति सम्मान र परिवारलाई राहत उलब्ध गराउने तय भएको छ ।