दुर्घटनामा चारको मृत्यु

विराटनगर, ३ फागुन । मोरङका छुट्टाछुट्टै स्थानमा शनिबार बिहान र शुक्रबार राति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका ४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किएर शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरमा तीन जना सवार प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सिरहाको सुखीपुर नगरपालिका २ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डी मलहनिया गाउँपालिका २ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको छ ।

घाइते अवस्थाका दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव गम्भीर घाइते भएको र उनको कोशी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको चक्कामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेनपार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका ७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उता पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा शुक्रबार राति दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार विशाल को ३७ प १७ नम्बर र अर्पण अर्को मोटरसाइकलका चालक हुन् । दुवै मोटरसाइकलका चालकले मापसे गरेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका ३ का २० वर्षीय लक्ष्मण खत्री गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताउनुभयो ।

सोमबार, ०५ फागुन, २०७६, बिहानको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर