विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान भएको झण्डै ४५ मिनेट लामो भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को भूमिका, नेपाली कांग्रेसको पछिल्लो अवस्था तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बताए। पत्रकारको प्रश्नमा उनले रास्वपाको महाधिवेशनलाई कसरी हेर्ने भन्ने विषयमा पनि केही छलफल भएको उल्लेख गर्दै कांग्रेसको पछिल्लो अवस्थाबारे समेत चासो व्यक्त गरिएको जानकारी दिए।
सहसंयोजक माधवकुमार नेपालले पनि भेटलाई सामान्य राजनीतिक संवादका रूपमा व्याख्या गर्दै देशको समसामयिक अवस्थाबारे विचार आदानप्रदान भएको बताए। नेताहरूले केही समयअघि कोइराला निवासमा भएको आगलागीपछिको अवस्था अवलोकन गर्न र कोइराला परिवारसँग भेटघाट गर्न आफूहरू आएको पनि बताएका थिए ।
भेटका क्रममा तीनै नेताले लोकतन्त्रका लागि संघर्ष गर्ने नेताहरूको घर नै आगलागीबाट प्रभावित भएको प्रसंग उल्लेख गर्दै हल्का ठट्टासमेत गरेका थिए। भेटपछि बाहिरिने क्रममा प्रचण्डले बैठक कक्षतर्फ संकेत गर्दै, “गिरिजाबाबुकै बैठक कक्ष रहेछ होइन ?” भनेर सोधेका थिए। त्यसमा डा.शेखर कोइरालाले, “त्यही हो,” भन्दै जवाफ दिएका थिए।
प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन विराटनगर आएका नेताद्वय दाहाल र नेपाल विराटनगरस्थित कोइराला निवासमै पुगेर नेता कोइरालासँग भेटघाट गरेका हुन् । डा.खर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, दलहरूबीचको सहकार्य र आगामी रणनीतिबारे कुराकानी भएको छ ।
पछिल्लो समय मुलुकको राजनीतिक परिस्थितिबारे प्रमुख दलका शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेका बेला विराटनगरमा भएको प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीचको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।