विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघले आगामी असार ४ देखि १० गतेसम्म विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।
संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी साताभर हुने कार्यक्रमबारे जानकारी दिएको छ । संघका अध्यक्ष देशबन्धु ढकालका अनुसार स्थापना दिवसको पहिलो दिन असार ४ गते कोशी अस्पतालको बालरोग तथा कुपोषण विभागमा उपचाररत बिरामी र कुरुवालाई फलफूल वितरण गरिनेछ । उक्त कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी र सदस्य राजेशकुमार मण्डलले गर्नेछन् ।
दोस्रो दिन विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयमा लागूऔषध तथा मनोद्दीपक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम तय गरिएको छ । कार्यक्रमको संयोजकमा कोषाध्यक्ष मनोजकुमार मण्डल रहेका छन् । तेस्रो दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लागूपदार्थ परीक्षण गर्ने किट तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गरिने संघले जनाएको छ ।
चौथो दिन बेलबारीमा औषधिको समुचित प्रयोग, भण्डारण एवं बिक्री–वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रमको संयोजकमा खुद्रा उपाध्यक्ष मुकेशकुमार श्रीवास्तव रहेका छन् । त्यसैगरी, पाँचौँ दिन मानव सेवा आश्रममा भोजन गराउनुका साथै स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यसको संयोजन निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले गर्नेछन् ।
महासचिव अरुणकुमार ठाकुरका अनुसार छैटौँ दिन विराटनगरको हस्पिटल चोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन असार १० गते बिहान प्रभातफेरी गरिने र दिउँसो संघको भवनमा औपचारिक समारोहका साथ समापन गरिनेछ । सोही दिन साँझ दीप प्रज्वलनसमेत गरिने कार्यक्रम रहेको र यसको संयोजन सचिव सरिता श्रेष्ठ चौधरीले गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।
स्थापना दिवसलाई अर्थपूर्ण र सामाजिक सेवामुखी बनाउन साताभरि नै विभिन्न कार्यक्रमको तयारी गरिएको संघले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।