लोड हुँदैछ...

मेनु

झापामा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ

झापामा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ

विराटनगर । झापाका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै घटनामा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्लाको बिर्तामोड नगरपालिका–६ स्थित न्युटन इङ्ग्लिस स्कुल नजिकबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले एक घरमा खानतलासी गर्दा करिब ३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय २८ वर्षीय राजु राजवंशीको कोठाबाट ब्राउन सुगर फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय विक्रम भनिने अभिनास चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको छ।

त्यसैगरी, झापा गाउँपालिका–४ स्थित पेच्करबस्ती क्षेत्रमा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ का २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङ रहेका छन्।

प्रहरीले जाँचका क्रममा उनीहरूले निटाजेन–१० नामक प्रतिबन्धित औषधि सेवन गरेको देखिएको जनाएको छ। विजय लिम्बुको साथबाट सोही औषधिका सात थान ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। दुवैलाई नियन्त्रणमा लिएर प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ।

उता, झापा गाउँपालिका–४ कै सुकुम्बासी बस्ती क्षेत्रमा भारतबाट साइकलमा नेपाल आउँदै गरेका एक युवकको साथबाट पनि ब्राउन सुगर बरामद भएको छ। गौरीगञ्ज गाउँपालिका–१ रंगेथान निवासी २० वर्षीय जीवन राजवंशीलाई शंका लागेपछि चेकजाँच गर्दा साइकलको ह्यान्डलमा कालो प्लास्टिकभित्र लुकाएर ल्याएको १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषध र साइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ।

पछिल्लो समय झापाका सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार र कारोबारका घटना बढ्दै गएको देखिएको छ। प्रहरीले सीमा नाका तथा संवेदनशील क्षेत्रमा निगरानी कडा बनाउँदै लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ। पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds