लोड हुँदैछ...

मेनु

आत्महत्या दुरुत्साहन मुद्दामा फरार दुई प्रतिवादीविरुद्ध पक्राउ पुर्जी

आत्महत्या दुरुत्साहन मुद्दामा फरार दुई प्रतिवादीविरुद्ध पक्राउ पुर्जी

विराटनगर । इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाका कर्मचारी प्रेमप्रसाद मिश्रको आत्महत्या प्रकरणमा अदालतले फरार रहेका दुई प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

झापा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा सहकारीका तत्कालीन मार्केटिङ म्यानेजर रञ्जितकुमार झा र बजार प्रतिनिधि शेरबहादुर खड्कालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको हो।

अदालतका अनुसार पटक–पटक सम्पर्क गर्दा पनि उपस्थित नभएपछि दुवैलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ। रञ्जितकुमार झाविरुद्ध प्रारम्भिक रूपमा सात दिनको पक्राउ पुर्जी जारी गरिएको छ। तोकिएको अवधिमा उपस्थित नभए थप ३५ दिनको पक्राउ पुर्जी तामेल गरी खोजी कार्य तीव्र पारिने अदालतले जनाएको छ।

शेरबहादुर खड्काविरुद्ध भने सिधै ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको छ। अदालतले तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार थप प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

यो मुद्दा कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेमप्रसाद मिश्रको आत्महत्यासँग सम्बन्धित छ। मिश्र २०८२ कात्तिक १७ गते झापाको गौरादहस्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि फेला परेको सुसाइड नोटमा मिश्रले सहकारीका केही कर्मचारीबाट भएको व्यवहार, कार्यदबाब र कार्यालयको वातावरणका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेको थियो।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कमल मिश्र र तेजप्रसाद सुवेदी जाहेरीकर्ता रहेका छन्। अनुसन्धानका क्रममा प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराउन प्रयास गरिए पनि सम्पर्कमा नआएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

इटहरी–१ आँपगाछी निवासी झा र मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी खड्काको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यस प्रकरणले सहकारी संस्थाभित्रको कार्य वातावरण, व्यवस्थापकीय दबाब र कर्मचारीको मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ। अदालतले प्रतिवादीहरूलाई निर्धारित समयभित्र उपस्थित हुन आग्रह गर्दै अन्यथा अनुपस्थितिमै कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds