उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ७ स्थित गोलचोकबाट प्रहरीले ठूलो मात्रामा लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ बस्ने २४ वर्षीय निश्चल गुरुङ रहेका छन्। उनीहरू प्र१०२०५० प १९६० नम्बरको मोटरसाइकलमा सवार भइरहेको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो।
चेकजाँचका क्रममा उनीहरूले लागू औषध लुकाउन अपनाएको तरिका देखेर प्रहरी समेत चकित परेको छ। पक्राउ परेका केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम (प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम) ब्राउन सुगर फेला परेको छ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम खैरो लिसाइलो पदार्थ ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार दुवै जनालाई लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पछिल्लो समय प्रहरीले लागू औषध ओसारपसार विरुद्धको सक्रियतालाई तीव्र पारेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।