लोड हुँदैछ...

मेनु

पूर्वकांग्रेस वडाध्यक्ष गुरुङ रास्वपा ताप्लेजुङको सभापतिमा निर्वाचित

पूर्वकांग्रेस वडाध्यक्ष गुरुङ रास्वपा ताप्लेजुङको सभापतिमा निर्वाचित

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको पहिलो जिल्ला अधिवेशनले राजनकुमार गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

फुङलिङ नगरपालिका–७ दोखु निवासी गुरुङ जिल्ला सभापतिमा चयन भएका हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर फुङलिङ–७ को वडाध्यक्ष निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने कुनै पदमा उम्मेदवारी नदिई रास्वपामा आबद्ध भएका थिए।

अधिवेशनबाट उपसभापतिमा मेरिङदेन गाउँपालिकाका मानबहादुर तामाङ, सचिवमा फुङलिङ नगरपालिकाका लिलाप्रसाद पौडेल र सहसचिवमा फुङलिङ–२ का गोपाल गुरागाईं चयन भएका छन्। रास्वपाको विधानअनुसार कोषाध्यक्ष भने जिल्ला कार्यसमितिले पछि चयन गर्ने व्यवस्था छ।

जिल्ला कार्यसमितिका सदस्यहरूमा कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा चयन भएका छन्। पदाधिकारीसहित अधिकांश सदस्य फुङलिङ नगरपालिकाका बासिन्दा रहेका छन्।

रास्वपाले यसअघि फुङलिङ नगरपालिकासहित सिदिङ्वा, सिरिजङ्गा, मेरिङदेन, आठराई त्रिवेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ। जिल्लाका नौ स्थानीय तहमध्ये फक्ताङलुङ र मैवाखोला गाउँपालिकाको अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ।

पालिका अधिवेशनबाट फुङलिङ नगरपालिकामा युवराज बराल, मेरिङदेन गाउँपालिकामा जीवन पौडेल, सिदिङ्वामा कविराज लिम्बू, सिरिजङ्गामा भवानीप्रसाद दाहाल, मिक्वाखोलामा नुपु शेर्पा, पाथीभरा याङवरकमा शरण तामाङ र आठराई त्रिवेणीमा केदारनाथ प्रसाईं सभापति चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds