लोड हुँदैछ...

मेनु

पुनर्निर्माणपछि सञ्चालनमा आयो खाँदबारी खानेपानी आयोजना

पुनर्निर्माणपछि सञ्चालनमा आयो खाँदबारी खानेपानी आयोजना

संखुवासभा । लामो समयदेखि अवरुद्ध रहेको खाँदबारी खानेपानी आयोजना पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा आएको छ। ६ करोड ४७ लाख ५६ हजार ६ सय रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको आयोजनाबाट अब खाँदबारी नगरपालिकाका करिब २५ सय उपभोक्ताले नियमित, स्वच्छ र सुरक्षित खानेपानी सेवा प्राप्त गर्ने भएका छन्।

खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित आयोजनाको माङ्सिमा मुहानदेखि खाँदबारीसम्म फैलिएको ४२ किलोमिटर पाइपलाइनमध्ये २०.५ किलोमिटर पाइपलाइन पुनर्निर्माण गरिएको हो। चिचिला गाउँपालिकाको कुवापानीस्थित पानी प्रशोधन केन्द्रबाट पानी प्रवाह सुरु भएसँगै आयोजना पुनः सञ्चालनमा आएको हो।

नगरप्रमुख महेश्वर थपलियाले आयोजनाको पुनः सञ्चालनले खाँदबारीवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। उनका अनुसार नयाँ पाइपलाइन जडान तथा वितरण प्रणालीको स्तरोन्नतिले पानी चुहावट नियन्त्रण हुनुका साथै सेवा थप प्रभावकारी बनेको छ।

खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दिव्यराज बरालले पुनर्निर्माणपछि उपभोक्तालाई सहज र नियमित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य पूरा भएको बताए। उनले आगामी दिनमा सेवाको गुणस्तर सुधार र दिगो व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिए।

यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा मुख्य पाइपलाइन क्षतिग्रस्त भएपछि खानेपानी सेवा प्रभावित भएको थियो। त्यसका कारण स्थानीयले लामो समयसम्म खानेपानी अभाव झेल्नुपरेको थियो।

२०७० सालमा निर्माण सुरु भएको माङ्सिमा खानेपानी आयोजना पटक–पटक म्याद थपिएपछि २०७४ पुसमा ४५ करोड १ लाख ५५ हजार रुपैयाँको लागतमा सम्पन्न भएको थियो। पुनर्निर्माणपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएकाले खाँदबारी क्षेत्रको खानेपानी व्यवस्थापनमा दीर्घकालीन सुधार आउने अपेक्षा गरिएको छ।

स्थानीयवासीले पनि आयोजना पुनः सञ्चालनमा आएसँगै दैनिक जीवन सहज बन्ने विश्वास व्यक्त गरेका छन्। स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै जनस्वास्थ्य सुधार, समय बचत तथा नगरवासीको जीवनस्तर उकास्न आयोजनाले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।