लोड हुँदैछ...

मेनु

उदयपुरमा जुवाको अड्डामाथि प्रहरीको छापा, ११ जना पक्राउ

उदयपुरमा जुवाको अड्डामाथि प्रहरीको छापा, ११ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ फूलचोकमा सञ्चालन भइरहेको जुवाको अड्डामाथि प्रहरीले छापा मारेर घरधनीसहित ११ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शनिबार राति महेन्द्र चौधरीको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई रंगेहात नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार पक्राउ परेकाहरूको साथबाट १ लाख ८२ हजार ३ सय ८२ रुपैयाँ नगद, १६ वटा कौडा, ११ थान मोबाइल फोन तथा ५ थान मोटरसाइकल बरामद गरिएको छ। बरामद सामग्रीका आधारमा उक्त स्थानमा लामो समयदेखि जुवाजन्य गतिविधि सञ्चालन हुँदै आएको आशंका गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा घरधनी महेन्द्र चौधरी, चिरन राई, जितेन राई, तिलक राई, जगदीश राई, नवीन तामाङ, वसन्त राई, नारायण पौडेल, रवीन्द्र राई, हेमन्त राई र रुद्रबहादुर परियार रहेका छन्। प्रहरीले सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा त्यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।