काठमाडौं– राष्ट्रिय सभाको आइतबारको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बिहान सवा ११ बजेका लागि तय भएको बैठक करिब एक घण्टा ढिलो गरी सुरु भए पनि शून्य समय सकिएलगत्तै स्थगित भएको हो ।
बैठक सुरु भएपछि शून्य समयमा केही सांसदहरूले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए । शून्य समय सकिएपछि सभाध्यक्ष नारायण दाहालले आजको बैठकमा ‘विशेष समय’ नराखिएको जानकारी गराउँदै २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।
आजको मुख्य कार्यसूचीमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
सचिवालयका अनुसार २० मिनेटपछि बस्ने अर्को बैठकमा उक्त विधेयकमाथि छलफल हुने र सोही बैठकबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत हुने कार्यसूची रहेको छ । बैठक पुनः सुरु भएपछि मात्रै विधेयक निर्माणको प्रक्रिया अघि बढ्नेछ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।