विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्मा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोशी प्रदेशको पूर्वाधार, ऊर्जा, र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन् । बजेटमा कोशी करिडोर निर्माणदेखि ठूला जलविद्युत् आयोजना र खेलकुद संरचना निर्माणसम्मका महत्त्वाकांक्षी योजनाहरू समेटिएका छन् ।
बजेटमा कोशी करिडोरको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरिएको छ । यसै आर्थिक वर्षभित्र उक्त करिडोरको १५ किलोमिटर खण्ड कालोपत्रे गरिने अर्थमन्त्रीले बताएका छन् । यस्तै, भारतसँग जोड्ने बथनाहा–विराटनगर रेलमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
कोशी प्रदेशलाई ऊर्जाको केन्द्रका रूपमा विकास गर्न सरकारले अरुण नदीमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिएको छ । अर्ध–जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको लागि स्रोत सुनिश्चितता गरिने बजेटमा उल्लेख छ । यसका साथै अरुण ४ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने र निर्माणाधीन अरुण तेस्रो तथा तल्लो अरुण आयोजनाको विकासका लागि सरकारले सहजीकरण गर्ने नीति लिएको छ ।
शहरी व्यवस्थापनतर्फ प्रमुख शहरहरूमा एकीकृत फोहोरमैला व्यवस्थापन, खानेपानी तथा ढल व्यवस्थापनका कार्यक्रमहरू ल्याइएका छन् । विशेषगरी संखुवासभाको खाँदबारीमा ढल प्रशोधन केन्द्र निर्माण गरिने भएको छ । यस्तै, झापाको मेचीनगरमा विपन्न तथा लक्षित वर्गका लागि १०० वटा आवास भवन निर्माण गरिने घोषणा गरिएको छ ।
कोशी प्रदेशमा खेलकुदको विकासका लागि ठूला पूर्वाधारका योजनाहरू अघि सारिएका छन् । विराटनगरमा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ । साथै, विराटनगरमै एक आधुनिक क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।