विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सडक तथा शहरी विकास पूर्वाधारतर्फ २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै सडक सञ्जाल विस्तार, पुल निर्माण र राष्ट्रिय राजमार्ग स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
सरकारले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने तथा २ सय वटा सडक पुल निर्माण गर्ने घोषणा गरेको छ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री वाग्लेले नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुर खण्डको निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने जानकारी दिए । साथै, आगामी दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण सम्पन्न गरिने उनले बताए ।
पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । द्रुतमार्गअन्तर्गत ४० वटा पुल र ४ वटा सुरुङ निर्माणको कामलाई तीव्रता दिइने सरकारको योजना छ ।
त्यसैगरी हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि १ अर्ब तथा मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।