लोड हुँदैछ...

मेनु

नेपाल टेलिकमको सेयर बिक्री गर्ने र विद्युत् प्राधिकरण टुक्र्याउने सरकारको घोषणा

नेपाल टेलिकमको सेयर बिक्री गर्ने र विद्युत् प्राधिकरण टुक्र्याउने सरकारको घोषणा

विराटनगर । सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयर मात्रै सरकारसँग राखेर बाँकी सेयर सर्वसाधारणका लागि बिक्री गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुस मसान्तभित्र बाँकी सेयर जनस्तरमा बिक्री गरिने बताएका हुन् ।

सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने योजनामा उपयोग गरिने सरकारको भनाइ छ । बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले भने, “नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नेछौँ ।”

त्यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणको लामो समयदेखि थाती रहेको पुनर्संरचना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । सरकारले प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण तथा वितरण एवं व्यापार गरी तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने योजना अघि सारेको छ । अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रभावकारी र व्यवस्थित बनाउन पुनर्संरचना आवश्यक रहेको बताएका छन् ।

विद्युत् खरिद सम्झौता (पीपीए) गरेर पनि निर्माण सुरु नगरेका जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिने सरकारले घोषणा गरेको छ । सरकारले ‘टेक अर पे’ मोडेलमा नयाँ पीपीए गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ ।

अर्थमन्त्री वाग्लेले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको तत्काल पीपीए गरिने पनि बताएका छन् । साथै सुख्खायाममा घटाघट प्रणालीअनुसार विद्युत् खरिददर निर्धारण गरी नयाँ विद्युत् खरिद सम्झौता गरिने सरकारको नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।