लोड हुँदैछ...

मेनु

गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : शासकीय चरित्र बदलिनुपर्छ

गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : शासकीय चरित्र बदलिनुपर्छ

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने बताएका छन् ।

गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत आमूल परिवर्तन आवश्यक रहेको बताए ।

‘अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,’ राष्ट्रपति पौडेलले भने । उनले गणतन्त्रको मर्यादा जोगाउन र यसलाई थप सुदृढ बनाउन राजनीतिक नेतृत्व, दल तथा राज्य संयन्त्रले आत्मसमीक्षा गर्दै जनउत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई वर्तमान सरकारको प्रमुख मार्गदर्शनका रूपमा उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । ‘आज नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेका छन् । यसका लागि हाम्रा स्रोतको उच्चतम प्रयोग गर्न आवश्यक छ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धिबाट मात्र शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सकिन्छ ।’

उनले ढिलासुस्ती, अनियमितता र बेथितिलाई लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौतीका रूपमा चित्रण गर्दै यिनै कारण नागरिकमा निराशा बढ्न सक्ने चेतावनी दिए । राष्ट्रपतिले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय सुधार अपरिहार्य रहेको उल्लेख गर्दै राजनीतिक दल, सरकार र नेतृत्वलाई सिर्जनशील, विनयशील, चरित्रवान र जनउत्तरदायी बन्न आग्रह गरे ।

स्थानीय र प्रदेश सरकारले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई घरआँगनबाटै सार्वभौमिकताको अभ्यास गर्ने अवसर दिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।