काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाह समारोहमा सहभागी त हुनेछन्, तर उनले मन्तव्य भने राख्ने छैनन् । गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले राष्ट्रको प्रमुखका हैसियतमा राष्ट्रपतिबाटै सम्बोधन हुनुपर्ने अडान प्रधानमन्त्रीले राखेका हुन् । सोहीअनुसार उनले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधनका लागि अनुरोध गर्दै शीतल निवासमा पत्र समेत पठाइसकेका छन् ।
प्रधानमन्त्रीको प्रस्ताव र समन्वयपछि यस वर्षको गणतन्त्र दिवस समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसअघिका वर्षहरूमा भने गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने र सरकारका उपलब्धि एवं भावी योजनाका बारेमा जानकारी दिने प्रचलन रहिआएको थियो ।
टुँडिखेलमा आयोजना हुने उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।