लोड हुँदैछ...

मेनु

रेश्मिकाको हत्या प्रकरणमा थप तीन पक्राउ

रेश्मिकाको हत्या प्रकरणमा थप तीन पक्राउ

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार पक्राउ पर्नेमा चुइचुम्मा–४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र बतासेकै एक जना दीपक राई रहेका छन्।

रेश्मिका गत भदौ ३० गते राति मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई असोज १ गते पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

मृतकका परिवारले घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको दाबी गर्दै थप तीन जनाविरुद्ध चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा उच्च अदालतले चैत २८ गते जिल्ला प्रहरी कार्यालय खोटाङलाई घटनाको थप अनुसन्धान गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशपछि पुनः अनुसन्धान अगाडि बढाइएको र सोही क्रममा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेकामाथि हत्या सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण र संलग्नताको विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।