काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । लगातार दुई कारोबार दिन बढेको बजार यस दिन भने करेक्सनसहित ओरालो लागेको हो ।
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंकले घटेको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३४२ कम्पनीको ५२ हजार ७५१ पटकको कारोबारबाट ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशतले बढेको छ । कम्पनी गत शुक्रबार मात्रै नेप्सेमा सूचीकृत भएको थियो र मंगलबारदेखि नियमित दोस्रो बजार कारोबारमा आएको हो ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत तथा त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । घटेका कम्पनीहरूको मूल्य भने ४ प्रतिशतभन्दा कम दरले घटेको देखिएको छ ।
कारोबार रकमका आधारमा मंगलबार पनि आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको साढे १६ करोड रुपैयाँभन्दा बढी तथा साहस उर्जाको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्ये मंगलबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन् । म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह सामान्य बढ्दा बाँकी अधिकांश उपसमूहमा गिरावट देखिएको हो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।