विराटनगर । मोरङको उर्लाबारीमा काँसघारीभित्र एक महिलाको शव फेला परेको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनार नजिक लन्डन ब्रिज आसपासको काँसघारीमा मंगलबार बिहान शव भेटिएको हो ।
स्थानीयवासी राँगा चराउन जाँदा काँसघारीभित्र शव देखेपछि बिहान करिब ७ः४० बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव उर्लाबारी–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको हो । उनी चार दिनदेखि हराइरहेकी थिइन् ।
उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी सविता जेठ ९ गते शनिबारदेखि परिवारको सम्पर्कमा नआएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अवलोकनमा शव सुन्निएको र घोप्टो परेको अवस्थामा फेला परेको छ । मृतकको सनाखत कपडाको आधारमा श्रीमान दिलबहादुर लिम्बूले गरेका हुन् । शव फेला परेको जानकारी माइती पक्षलाई पनि गराइएको प्रहरीले जनाएको छ ।
तेह्रथुमस्थित माइती पक्षले आफूहरू घटनास्थलमा नपुगेसम्म शव नचलाउन आग्रह गरेपछि हाल शव घटनास्थलमै सुरक्षित राखिएको प्रहरीले जनाएको छ । माइती पक्ष आएपछि कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।
मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।