काठमाडौं । पश्चिम तराईसहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ ।
लगातार बढिरहेको तापक्रमका कारण सर्वसाधारण, श्रमिक वर्गदेखि प्रहरी हिरासतमा रहेका बन्दीसम्म प्रभावित भएका छन् । गर्मीका कारण अस्पतालहरूमा बिरामीको संख्या बढ्न थालेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोहलपुरमा ३८.९ डिग्री सेल्सियस, नेपालगन्जमा ४०.६ डिग्री, धनगढीमा ३९.६ डिग्री तथा भैरहवामा ३७.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । आइतबार पनि यी क्षेत्रमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेको थियो ।
महाशाखाले पश्चिम नेपालका तराई भूभागमा तातो लहरको चेतावनी जारी गर्दै मंगलबार पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी रहने सम्भावना रहेको जनाएको छ । चर्को घाम र तातो हावाले सडक, बजार तथा श्रम क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।
विशेषगरी तराई, मधेश र काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लाग्ने, दिउँसो तातो हावा चल्ने र रातिको तापक्रमसमेत उच्च रहन थालेपछि सर्वसाधारण समस्यामा परेका छन् । बढ्दो गर्मीले प्रहरी हिरासतसमेत प्रभावित बनेपछि बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासतमा पहिलोपटक दुई वटा एसी जडान गरेको छ । एसीले हिरासतको वातावरण केही सहज बनेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी चक्रडम्मर पालका अनुसार अत्यधिक गर्मीका कारण हिरासतभित्र बस्नै कठिन अवस्था सिर्जना भएपछि यस्तो व्यवस्था गरिएको हो । उनका अनुसार हाल हिरासतमा करिब ७० जना विभिन्न अभियोगका बन्दी रहेका छन् ।
गर्मीको असर स्वास्थ्य क्षेत्रमा पनि देखिन थालेको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिहाइड्रेसन, झाडापखाला, रिङ्गटा लाग्ने तथा कमजोरी महसुस हुने बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । प्रतिष्ठानका डा.सुरेश रसाइलीका अनुसार दैनिक १५ देखि २० जना अतिरिक्त बिरामी थपिन थालेका छन् ।
काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि तापक्रम बढ्दै गएको छ । पूर्वी नेपालमा भने वर्षा भइरहेकोले गर्मी बढिसकेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन सक्रिय हुनुअघि लामो समयसम्म वर्षा नहुँदा तथा पश्चिमी र स्थानीय वायु कमजोर हुँदा तापक्रम क्रमशः बढिरहेको हो । मौसमविद्हरूले केही दिन अझै गर्मी बढ्ने सम्भावना रहेको बताएका छन् ।
चिकित्सकहरूले अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न, हल्का कपडा लगाउन र बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।