लोड हुँदैछ...

मेनु

विषाक्त खाना खाँदा उदयपुरमा एउटै परिवारका चार जना बिरामी

विषाक्त खाना खाँदा उदयपुरमा एउटै परिवारका चार जना बिरामी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । बिरामीमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार बिरामी पर्नेमा २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी रहेका छन् ।

शनिबार घरमा बजारबाट ल्याइएको मुसुरोको दालसहितको खाना खाएपछि रातिदेखि नै बान्ता हुने र बेहोस हुने लक्षण देखिएको छिमेकीहरूले बताएका छन् । त्यसपछि आफन्त र छिमेकीको सहयोगमा चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।

जिल्ला अस्पताल उदयपुरका अनुसार योगेश, यासिका र यशोदाको उपचारपछि अवस्था सामान्य बनेकाले घर फर्काइएको छ । तर २३ वर्षीया हेमा बुढाथोकीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रेफर गरिएको अस्पतालका प्रमुख डा. मुकेश झाले जानकारी दिए ।

हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् । हाल घरमा हेमा, उनका छोरा र नन्दहरू सँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।