लोड हुँदैछ...

मेनु

बाइक र्‍यालीमार्फत उदयपुरमा सडक सुरक्षा सचेतना

बाइक र्‍यालीमार्फत उदयपुरमा सडक सुरक्षा सचेतना

उदयपुर । बढ्दो सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राबारे जनचेतना फैलाउने उद्देश्यले उदयपुरमा महिला मोटरसाइकल राइडरहरूले ५० किलोमिटर लामो सचेतनामूलक यात्रा सम्पन्न गरेका छन् ।

उदयपुर महिला बाइक राइडरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको समन्वयमा शनिबार गाईघाटदेखि कटारीसम्म अभियान सञ्चालन गरिएको हो ।

अभियानमा सहभागी महिला राइडरहरूले हेल्मेट तथा मोटरसाइकलमा सडक सुरक्षासम्बन्धी सन्देश लेखिएका स्टिकर टाँसेका थिए । विभिन्न स्थानमा पुगेर ट्राफिक नियम पालना, सुरक्षित गति र जिम्मेवार सवारी संस्कृतिबारे सचेतना फैलाइएको थियो ।

उदयपुर महिला बाइक राइडरकी सदस्य जानुका कार्कीले सडक सुरक्षाप्रति नागरिकको चेतना अभिवृद्धि गर्दै जिम्मेवार चालक संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

सुरक्षित सडक अभियानकी अभियन्ता रमा मगरका अनुसार नेपालमा दैनिक औसत ७ देखि ८ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । उदयपुरमा मात्रै पछिल्ला तीन आर्थिक वर्षमा १२१ जनाको मृत्यु भएको तथ्यांकले सडक सुरक्षाको चुनौती गम्भीर बन्दै गएको उनले बताइन् ।

उदयपुरको बेलका नगरपालिकादेखि कटारी नगरपालिकासम्म फैलिएको मदन भण्डारी लोकमार्गको १०९ किलोमिटर सडक खण्डमा दैनिकजसो दुर्घटना हुने गरेपछि विभिन्न निकायको सहकार्यमा ‘सुरक्षित सडकका लागि शुभयात्रा अभियान’ सञ्चालन हुँदै आएको छ ।

“म जिम्मेवार चालक हुँ” भन्ने सन्देशसहित सञ्चालन गरिएको यात्राका क्रममा संगमचोकदेखि नेपालटार खण्डका दुर्घटना सम्भावित ६ स्थानमा सडक सुरक्षा सम्बन्धी होर्डिङ बोर्डसमेत राखिएको छ । बाटोमा भेटिएका चालक र यात्रुहरूलाई हेल्मेटको अनिवार्य प्रयोग, ट्राफिक नियम पालना र सुरक्षित यात्राबारे सचेतना दिइएको थियो ।

त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले ट्राफिक सचेतनामूलक स्टिकर टाँसेर अभियानको शुभारम्भ गरेकी थिइन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दानबहादुर मिरिङचिङले मदन भण्डारी लोकमार्गका दुर्घटना सम्भावित क्षेत्रमा ‘गति कम गर्नुहोस्’ सन्देशसहितका संकेतचिन्ह र रिफ्लेक्टिभ सुरक्षा खम्बा जडान गर्ने तयारी भइरहेको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्लो १० महिनामा जिल्लामा ४०१ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा ४१ जनाको मृत्यु, १३५ जना गम्भीर घाइते तथा ६०५ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।