विराटनगर। तमोर करिडोर अन्तर्गत तमोर नदी मा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।
शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन र हिलिहाङ गाउँपालिका को आङ्बुङ जोड्ने पुल बगाएको हो ।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु का अनुसार करिब एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको थियो । बाढीले ट्रस संरचनासहित निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बगाएको उनले जानकारी दिए ।
करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । पुल निर्माण सम्पन्न भएपछि ताप्लेजुङ र पाँचथरबीच यातायात आवागमन सहज हुने अपेक्षा गरिएको थियो ।
घटनापछि गाउँपालिकाको टोलीले निर्माणस्थल पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
एमएस सपना याक्थुङ जेभी ले २०७४ सालमा २२ करोड ५ लाख ७७ हजार ८ सय ९० रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता गरेर काम सुरु गरेको थियो ।
बाढीले पुल संरचना बगाएपछि निर्माण कार्यमा थप ढिलाइ हुने अनुमान गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।