विराटनगर– बालबालिकाको आँखामा हुने दृष्टिदोष (मायोपिया) व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण विराटनगरमा सम्पन्न भएको छ । नेपाल भिजन केयर फाउन्डेशनले एशिलर लक्सोटिकाको सहकार्य तथा मेची आँखा अस्पताल र अप्टिकेयर नेपालको सहयोगमा प्रशिक्षण आयोजना गरेको हो ।
नेपाल भिजन केयर फाउन्डेशनका अध्यक्ष एवं उप–प्राध्यापक सञ्जीवकुमार मिश्रको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा कोशी प्रदेशभरका नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट तथा नेत्र सहायकसहित ७५ जनाको सहभागिता थियो । विद्यालय उमेरका बालबालिकामा बढ्दो मायोपियाको समस्या, अत्यधिक स्क्रिन प्रयोग र बाहिरी गतिविधिमा आउने कमीले निम्त्याउने जोखिमबारे स्वास्थ्यकर्मीहरूमा व्यावहारिक एवं प्रमाणमा आधारित ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज अधिकारीले कोभिड–१९ पछि इलेक्ट्रोनिक ग्याजेटहरूको प्रयोग बढेकाले बालबालिकामा मायोपियाको समस्या तीव्र रूपमा बढ्दै गएको बताए । वैज्ञानिक सत्रअन्तर्गत उप–प्राध्यापक निराजदेव जोशीले नेपाल र विश्वव्यापी रूपमा मायोपियाको अवस्था र यसको प्रारम्भिक पहिचानको महत्त्वबारे प्रकाश पारेका थिए । त्यस्तै, नोबेल कलेजका विभागीय प्रमुख एवं प्रमाणित मायोपिया व्यवस्थापन विशेषज्ञ उप–प्राध्यापक वीरेन्द्र महतले बालबालिकाको मायोपिया नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेका चस्मा प्रविधि, कन्ट्याक्ट लेन्स, एट्रोपिन थेरापी र यसको क्लिनिकल प्रभावकारिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे । मेची एड्भान्स्ड आँखा अस्पतालका चिफ अप्टोमेट्रिस्ट अमितकुमार सिंहले नियमित निगरानी, ‘एक्सियल लेन्थ एसेसमेन्ट’ र दीर्घकालीन बिरामी अनुगमनको प्रोटोकलबारे जानकारी दिएका थिए ।
एशिलर लक्सोटिकाका आशुतोष त्रिपाठीले बालबालिकामा मायोपियाको गति कम गर्न विकास गरिएको आधुनिक प्रविधिबारे प्राविधिक जानकारी दिए । सो अवसरमा बोल्ने अन्य सहभागीले मायोपिया अब चस्मा लगाउने सामान्य विषय मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बनेकाले अभिभावक, विद्यालय र स्वास्थ्यकर्मीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । नेपालजस्तो विकासशील देशमा यस्ता प्रशिक्षणले बाल आँखा स्वास्थ्य सेवालाई सुदृढ बनाउन ठूलो योगदान पुर्याउने आयोजकको विश्वास छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।