विराटनगर ।जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिने भएको छ ।
जेठ १० गतेदेखि औपचारिक रूपमा सुरु हुने अभियानलाई व्यापक सामाजिक आन्दोलनका रूपमा अघि बढाइने प्रहरीले जनाएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा भव्य कार्यक्रमसहित अभियानको उद्घाटन गरिने तयारी पूरा भएको छ । विशेष समारोहबीच शुभारम्भ हुने कार्यक्रममा हिक्मतकुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
त्यस्तै, इन्द्रमणि पराजुली, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दानबहादुर कार्की, गृह मन्त्रालयका राष्ट्रिय लागुऔषध नियन्त्रक सुमन घिमिरे तथा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ । महाअभियानको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका छन् । उनले लागुऔषध नियन्त्रणलाई अब कारबाहीमा मात्र सीमित नराखी सामाजिक अभियानका रूपमा विस्तार गरिने बताए ।
अभियान शुभारम्भ कार्यक्रममा लागुऔषधको सेवनले मानव स्वास्थ्यमा पार्ने असर, सामाजिक तथा मानसिक समस्याबारे डा. अजिता पौडेलले विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ । साथै, पूर्वलागुऔषध प्रयोगकर्ताले आफ्ना अनुभव सुनाउँदै दुर्व्यसनले जीवनमा पारेको असरबारे जानकारी दिनेछन् ।
कार्यक्रममा ‘अन्धकारबाट उज्यालो’ शीर्षकको नाटकसमेत प्रदर्शन गरिनेछ । नाटकमार्फत लागुऔषध दुर्व्यसनको अन्धकार र त्यसबाट मुक्त जीवनको यात्रालाई कलात्मक रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महाअभियानअन्तर्गत सरोकारवाला निकायहरूले नौ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेछन् । प्रतिबद्धतामा सरकारी निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र, शैक्षिक संस्था र समुदायबीच सहकार्य मजबुत बनाउने, सूचना आदानप्रदान प्रभावकारी बनाउने तथा संयुक्त रूपमा कार्यान्वयन गर्ने विषय समेटिएका छन् ।
कार्यक्रमअघि विराटनगरमा प्रभातफेरी तथा जनचेतनामूलक र्याली निकालिनेछ । र्याली महेन्द्र चोकबाट सुरु भएर बजार क्षेत्र परिक्रमा गर्दै सहिद रंगशालामा पुगेर समापन हुनेछ ।
युवालाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगितासमेत आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ४० हजार रुपैयाँ र तृतीयलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रहरीले जनाएको छ ।
एसपी कटवालका अनुसार विराटनगरबाट सुरु हुने अभियान मोरङका सबै १७ स्थानीय तहमा विस्तार गरिनेछ । शैक्षिक संस्था, समुदाय तथा सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै युवालाई लागुऔषधबाट टाढा राख्ने अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।
यसअघि वैशाख महिनामा सञ्चालन गरिएको ‘लागुऔषधमुक्त मोरङ अभियान’ अन्तर्गत लागुऔषध ओसारपसार, कारोबार तथा सेवनमा संलग्न ३ सय ९७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतसँग खुला सीमा जोडिएको मोरङमा लागुऔषधको जोखिम उच्च रहेको सुरक्षा निकायको विश्लेषण छ । भारतबाट अवैध रूपमा भित्रिने विभिन्न प्रकारका लागुऔषधले नेपाली समाजमा गम्भीर असर पारिरहेको प्रहरीको भनाइ छ ।
एसपी कटवालले भने, ‘लागुऔषधको अवस्था अहिले अत्यन्तै चिन्ताजनक छ । यसलाई नियन्त्रण गर्न कारबाही मात्र पर्याप्त छैन, व्यापक सामाजिक अभियान आवश्यक छ ।’
महाअभियानमार्फत लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारलाई निरुत्साहित गर्दै सूचना आदानप्रदान, निगरानी र अनुसन्धानलाई प्रभावकारी बनाउने योजना बनाइएको छ । साथै, दुर्व्यसनमा फसेका व्यक्तिलाई सुधार केन्द्रसम्म पुर्याउने, मनोसामाजिक परामर्श र उपचार उपलब्ध गराउने तथा समाजमा सम्मानजनक पुनःस्थापनामा सहयोग गर्ने लक्ष्य पनि राखिएको छ ।
प्रहरीले युवालाई खेलकुद, गीत–संगीत, योग, ध्यान तथा सिपमूलक र रोजगारमुखी कार्यक्रममा सहभागी गराउँदै सकारात्मक जीवनशैलीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ ।
लागुऔषधविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्दै समाजलाई सुरक्षित, स्वस्थ र सृजनशील बनाउने उद्देश्यसहित मोरङमा महाअभियान सुरु गर्न लागिएको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।