विर्तामोड । झापाको भद्रपुरस्थित मेची रंगशालालाई रात्रिकालीन खेल गतिविधिका लागि सक्षम बनाउने उद्देश्यसहित फ्लडलाइट जडान हुने भएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि परियोजनाले गति लिएको हो ।
झापाकै ऐतिहासिक तथा पुरानो खेल मैदानका रूपमा परिचित मेची रंगशालामा पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका फुटबल प्रतियोगिता नियमित आयोजना हुँदै आएका छन् । २०७९ सालयता दुई अन्तरराष्ट्रिय टोली सहभागी प्रतियोगिता आयोजना भइसकेका छन् भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यही मैदानमा हुँदै आएको छ ।
फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल तथा खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन् ।
भद्रपुर नगरपालिकाले मेची रंगशालालाई आधुनिक खेल पूर्वाधारयुक्त रंगशालाका रूपमा विकास गर्ने लक्ष्यसहित फ्लडलाइट जडान प्रक्रिया अघि बढाइएको जनाएको छ । नगरप्रमुख गणेश पोखरेलका अनुसार फ्लडलाइट जडान सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन फुटबल तथा अन्य खेल प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ ।
पछिल्लो समय भद्रपुर खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । विशेषगरी ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ जस्ता प्रतियोगिताले नगरको खेलकुद पहिचानलाई राष्ट्रिय स्तरमा विस्तार गरेका छन् । क्रिकेट र फुटबलका विभिन्न प्रतियोगितासमेत नियमित हुन थालेपछि आधुनिक खेल पूर्वाधार निर्माणको आवश्यकता महसुस गरिएको थियो ।
सम्झौताअनुसार प्रदेश सरकारले परियोजनाका लागि बजेट उपलब्ध गराउनेछ । झापा जिल्ला खेलकुद विकास समितिले आवश्यक जग्गा उपलब्ध गराउनेछ भने भद्रपुर नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् मिटर जडान गरी विद्युत् शुल्क व्यहोर्ने जिम्मेवारी लिएको छ ।
फ्लडलाइट जडान कार्य सम्पन्न भएपछि सम्पूर्ण संरचना औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।