लोड हुँदैछ...

मेनु

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ४ अर्ब नाघ्यो

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ४ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार सामान्य गिरावट आएको बजार शुक्रबार पुनः हरियालीमा फर्किएको हो ।

यसदिन नेप्से परिसूचक ११.५३ अंकले बढेर २७५३.६४ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

कारोबारमा ३३६ वटा धितोपत्रका १ करोड ३ लाख ४६ हजार ३७० कित्ता शेयर खरिद–बिक्री भएका छन् । बजारमा १८५ कम्पनीको शेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन माबिलुङ इनर्जीको शेयर मूल्य सर्वाधिक १०.०६ प्रतिशतले बढेर प्रतिकित्ता ७६४ रुपैयाँ ९० पैसामा पुगेको छ । त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले बढ्दै प्रतिकित्ता ९५२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

घट्ने कम्पनीतर्फ एनआइसी एसिया ब्यालेन्स्ड फण्ड अग्रस्थानमा रह्यो । उक्त योजनाको मूल्य २.५९ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ ४० पैसामा सीमित भएको छ । यस्तै, ग्लोबल आइएमई सम्मुन्नत योजना–२ को मूल्य २.५१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शुक्रबार पनि आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ४१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त कम्पनीको शेयर मूल्य ७.२० प्रतिशतले बढेर प्रतिकित्ता ३९८ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यस्तै, रिडी पावर कम्पनी दोस्रो धेरै कारोबार हुने कम्पनी बन्यो । कम्पनीको २४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

समूहगत परिसूचकतर्फ १३ मध्ये १२ वटा समूहमा वृद्धि भएको छ । व्यापार समूह मात्रै ०.४२ प्रतिशतले घट्दा जलविद्युत समूह सर्वाधिक १.२९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।