लोड हुँदैछ...

मेनु

मनसुनजन्य विपद् रोकथाममा सेना सक्रिय, ‘अभ्यास मनसुन–६’ सम्पन्न

मनसुनजन्य विपद् रोकथाममा सेना सक्रिय, ‘अभ्यास मनसुन–६’ सम्पन्न

सुनसरी । मनसुनको समयमा कोसी प्रदेशमा हुन सक्ने सम्भावित बाढी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई लक्षित गर्दै नेपाली सेनाले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ ।

सोही तयारी अन्तर्गत नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर अन्तर्गत श्री नं. २ बाहिनी अड्डाले सञ्चालन गरेको एकीकृत जिल्ला विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन–६’ बिहीबार सुनसरीमा सम्पन्न भएको हो ।

रामधुनी नगरपालिका–५ स्थित चौसट्ठी बिघामा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, युद्ध मद्दती, युद्ध सेवा मद्दती तथा विभिन्न सरकारी एवं सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

मनसुनका बेला हुन सक्ने प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण तथा उद्धार संयन्त्रलाई प्रभावकारी बनाउन अभ्यास गरिएको जनाइएको छ । अभ्यासका क्रममा कृत्रिम विपद्को अवस्था सिर्जना गरी उद्धार, राहत व्यवस्थापन, घाइतेको उद्धार तथा विभिन्न निकायबीचको समन्वय क्षमताको प्रदर्शन गरिएको थियो ।

पूर्वी पृतनाले विपद्को समयमा सुरक्षा निकाय र सम्बन्धित संस्थाबीच समन्वयात्मक क्षमता अभिवृद्धि गर्न यस्तो अभ्यास नियमित सञ्चालन गर्दै आएको जनाएको छ । पूर्वी पृतनाका उपरथी गौरवकुमार केसीले मनसुनजन्य विपद् आउनुअघि तयारी अवस्थाको परीक्षण गर्नुका साथै आपत्कालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा परिचालन हुन आवश्यक जनशक्ति तथा स्रोत व्यवस्थापनमा अभ्यासले सहयोग पुग्ने बताए ।

उनका अनुसार कोसी प्रदेशका तराई जिल्लामा बाढी तथा डुबान र पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम रहेकाले यसपटक पूर्व तयारीलाई विशेष प्राथमिकता दिइएको छ ।

विगतका वर्षहरूमा मनसुनी वर्षाका कारण कोसी प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र पानीजन्य विपद्बाट ठूलो धनजनको क्षति हुने गरेको स्मरण गर्दै उपरथी केसीले समयमै तयारी र समन्वय भए क्षति न्यूनीकरण गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।