लोड हुँदैछ...

मेनु

भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, सरकारको वेवास्ता !

भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, सरकारको वेवास्ता !

विराटनगर । भारतीय अबरोधको कारण नेपाली चिया उद्योग इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको बेला सरकारले पनि बेवास्ता गरेको गुनासो उद्योगीहरुले गरेका छन् ।

भारतले नेपाली चिया आयातमा प्रत्येक ट्रकपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण गर्ने नयाँ नियम लागू गरेपछि विगत तीन सातादेखि भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प छ ।

निर्यात ठप्प हुँदा कोशी प्रदेशका झापा, इलामलगायत जिल्लामा रहेका चिया उद्योग, किसान र श्रमिकमाथि परेको छ । भारतीय चिया विकास बोर्डले वैशाख १८ गतेदेखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ (एसओपी) अनुसार अब नेपालबाट भारत प्रवेश गर्ने हरेक ट्रकको चियाको नमुना छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

भारतको नयाँ नियम अनुसार प्रतिट्रक चिया परीक्षणका लागि १८ हजार रुपैयाँ शुल्क लाग्ने र रिपोर्ट आउन कम्तीमा १४ दिन लाग्ने गरेको छ । जसले गर्दा नेपाली व्यवसायीहरू निर्यात गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार अहिले करिब ५ लाख किलो तयारी चिया गोदाममै थन्किएको छ । “यो चिया निर्यातको मुख्य सिजन हो । तर, भारतीय नीतिका कारण एक पोका चिया पनि निर्यात हुन सकेको छैन,” उनले भने ।

व्यवसायीहरूले भारतको कदम गुणस्तर परीक्षणभन्दा पनि नेपाली चियालाई आफ्नो बजारबाट बाहिर धकेल्ने नियोजित रणनीति भएको आरोप लगाएका छन् । नेपालबाट जाने चियामाथि कडाइ गरिए पनि केन्या र भियतनामजस्ता मुलुकबाट आयात हुने चियामा भने त्यस्तो अवरोध नरहेको उद्योगीहरूको भनाइ छ ।

मे १ देखि भारतीय टि बोर्डले नेपालबाट भारततिर चिया बोकेर जाने प्रत्येक गाडीबाट चियाको नमूना संकलन गर्ने नियम लगाएपछि नेपाली व्यापारीले चिया पठाएका छैनन्। प्रयोगशाला परीक्षणको बहानामा लामो समय कुर्नपर्ने बाध्यताबाट आजित नेपाली पक्षले भारतीय पक्षको मुड बुझ्न एउटा गाडी भारतीय नाका पानीट्यांकीतर्फ पठाएको थियो।

झापाबाट चिया लोड गरेर पानीट्यांकी पुगेको ४ दिनपछि भारतीय टि बोर्डका कर्मचारीले अघिल्लो सोमबार उक्त चियाको नमूना संकलन गरेका थिए। प्रयोगशाला पठाउन नमूना संकलन भएको पनि मंगलबार नौ दिन पूरा भएको छ भने चिया भारत पुगेको १३ दिन बितिसकेको छ।
यतिका समयसम्म पनि कोलकातास्थित प्रयोगशालाबाट परीक्षण रिपोर्ट भने आएको छैन।

चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय बजारबाट आउने खरिद सम्बन्धी ‘वाइङ कल’ नै बन्द भएका छन् । भारतीय खरिदकर्ताहरूलाई नेपालबाट चिया नकिन्न मौखिक दबाब दिइएको र ल्याएमा गोदाममै छापा मार्ने चेतावनीसमेत दिइएको उनको दाबी छ ।

व्यवसायीहरूले परीक्षण प्रक्रियालाई अव्यावहारिक र निर्यात अवरोध गर्ने उद्देश्यपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् । एउटै ट्रकको रिपोर्ट आउन १५ देखि २५ दिन लाग्ने, त्यस अवधिमा गाडी खुला आकाशमुनि रोकिनुपर्ने र यसले चियाको गुणस्तरमै असर पर्ने उनीहरूको भनाइ छ ।

हाल नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रमा चिया खेती भइरहेको छ । देशभर करिब १७० ठूला र १२० साना तथा मझौला चिया उद्योग सञ्चालनमा छन् । यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी श्रमिक आश्रित छन् । गत आर्थिक वर्षमा मात्रै नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको चिया निर्यात भएको थियो ।

उद्योगीहरूका अनुसार यस्तो संवेदनशील अवस्थामा पनि सरकार प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । उद्योग मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पटक–पटक धाउँदा पनि ठोस पहल नभएको उनीहरूको गुनासो छ ।

चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले सरकार भारतीय पक्षसँग निरन्तर संवादमा रहेको दाबी गरेका छन् । उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय वाणिज्य मन्त्रालयसँग समस्या समाधानका लागि पहल भइरहेको छ ।

उद्योगीहरूले भने प्रशासनिक तहको सामान्य पत्राचारले समस्या समाधान नहुने भन्दै उच्च राजनीतिक र कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।