काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिँदै नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको हो ।
यसदिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक घट्दा फ्लोट इण्डेक्स ०.२४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले ओरालो लागेको छ ।
परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कुल ३४६ स्टकको ४५ हजार ५१९ पटक कारोबार हुँदा ७८ लाख १६ हजार कित्ता शेयर किनबेच भएका छन् ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशतले बढेको छ । नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य करिब साढे ६ प्रतिशतले उकालो लागेको छ ।
यता, सिटी होटलको शेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा पनि सिटी होटल नै शीर्ष स्थानमा रह्यो । कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साहस उर्जाको ९ करोड रुपैयाँभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको साढे ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूह घटेका छन् । विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने व्यापार उपसमूह सर्वाधिक १.२४ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।