विर्तामोड । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो १० महिनामा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
सो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत मात्र संकलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार वैशाख मसान्तसम्म ४ अर्ब ४० करोड १५ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर, लक्ष्यअनुसार राजस्व उठ्न नसकेको उनले बताए ।
वैशाख महिनामा मात्रै ४२ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरिएको थियो । तर, सो महिनामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र राजस्व उठेको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांकअनुसार वैशाखसम्म आयकरबाट सबैभन्दा धेरै १ अर्ब ६८ करोड ६८ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) बाट १ अर्ब २८ करोड ८० लाख १० हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ४९ करोड ९७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।
कार्यालयले करदाता सचेतना अभिवृद्धि, नियमित बजार अनुगमन तथा कर प्रशासनलाई थप प्रभावकारी बनाउँदै राजस्व संकलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।