विराटनगर । वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) घोषणाको किचलो र औद्योगिक कच्चा पदार्थको आयातमा आएको भारी गिरावटले विराटनगर भन्सारको राजस्व असुलीमा धक्का लागेको छ । वैशाख महिनामा ९ दिनसम्म आयात प्रक्रिया ठप्प हुँदा त्यसको प्रत्यक्ष असर भन्सारको ढुकुटीमा देखिएको हो ।
भन्सार कार्यालयका अनुसार चैत महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाएर उत्साह जगाएको यस नाकाले वैशाखमा भने लक्ष्य भेट्टाउन सकेन । चैतमा ३ अर्ब ५३ करोडको लक्ष्य रहेकोमा १०१ प्रतिशत (३ अर्ब ५८ करोड) असुली भएको थियो । तर, वैशाखमा ३ अर्ब ५३ करोडकै लक्ष्य राखिए पनि ८८ प्रतिशत अर्थात् ३ अर्ब ११ करोड ९४ लाख रुपैयाँमा मात्रै चित्त बुझाउनुपरेको छ । यो चैतको तुलनामा करिब ४७ करोड रुपैयाँ कम हो ।
वैशाखमा राजस्व घट्नुको मुख्य कारण आयातित वस्तुमा एमआरपी उल्लेख गर्नुपर्ने नयाँ प्रावधानलाई मानिएको छ । यो नियम कार्यान्वयनमा देखिएको व्यावहारिक झमेलाका कारण व्यवसायीहरूले आयात रोक्दा वैशाखको सुरुवातमै ९ दिनसम्म नाका प्रभावित भएको थियो । जसले गर्दा भन्सार महसुल र भ्याट संकलन दुवैमा ओरालो लागेको हो ।
कच्चा पदार्थको आयातमा मन्दी
राजस्वको मेरुदण्ड मानिने औद्योगिक कच्चा पदार्थको आयातमा आएको मन्दी अर्को चिन्ताको विषय बनेको छ । सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले कच्चा पदार्थको आयात घटाउँदा भन्सारको असुली प्रभावित भएको हो ।
विशेष गरी फलामजन्य उद्योगका लागि आवश्यक पर्ने एचआर सिट र स्टिल वायर रडको आयात चैतको तुलनामा वैशाखमा निकै घटेको छ । भन्सारको तथ्यांक अनुसार वैशाखमा ४५ करोड ९७ लाखको एचआर सिट र ३१ करोड ६२ लाखको वायर रड भित्रिएको छ । यस्तै, प्लास्टिक उद्योगका लागि चाहिने प्लास्टिक दाना (पोलीथिन) को आयात पनि वैशाखमा ८२ करोड ४० लाखमा खुम्चिएको छ ।
आयातमा आएको यो गिरावटका कारण भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) दुवै घटेका छन् । चैतमा १ अर्ब ९५ करोड भ्याट उठेकोमा वैशाखमा १ अर्ब ६६ करोडमा सीमित भएको छ ।
भन्सार प्रशासनका अनुसार नाकामा ९ दिनसम्म भएको अवरोध र उद्योगहरूको उत्पादन क्षमतामा आएको कमीले कच्चा पदार्थको माग घट्दा राजस्वको लक्ष्य पूरा हुन नसकेको हो । यद्यपि, गत वर्षको वैशाखको तुलनामा भने राजस्व संकलनमा १३ प्रतिशतले सुधार आएको देखिन्छ । आगामी दिनमा आयात सहज भए पुनः राजस्वको लय फर्कने विश्वास भन्सार अधिकारीहरूको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।