लोड हुँदैछ...

मेनु

चिनी निकासीमा भारतको रोक : विष्कुट, जुस र चलकलेट उद्योग बन्द हुने चिन्ता

चिनी निकासीमा भारतको रोक : विष्कुट, जुस र चलकलेट उद्योग बन्द हुने चिन्ता

विराटनगर । भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासीमा (निर्यातमा) प्रतिबन्ध लगाएपछि नेपालका उद्योगी र व्यवसायीहरुमा चिन्ता छाएको छ । नेपालको आन्तरिक उत्पादनले मात्र बजार र उद्योगको माग धान्न नसक्ने अवस्था रहेको बेला भारतको यो कदमले नेपालका जुस, बिस्कुट, चकलेट लगायतका उद्योगहरु संकटमा पर्ने उनीहरुको भनाइ छ ।

भारतले कम उत्पादन र ‘एल निनो’ मौसमको जोखिमका कारण आन्तरिक आपूर्तिमा कमी आउने निष्कर्ष निकाल्दै निर्यातमा रोक लगाएको हो । तथ्यांकअनुसार सन् २०२५–२६ को सिजनका लागि भारतमा चिनीको उत्पादन २ करोड ७५ लाख टन हुने अनुमान छ । जबकि त्यहाँको आन्तरिक माग २ करोड ८० लाख टन छ । मागभन्दा उत्पादन कम हुने र चिनीको मौज्दात सन् २०१६–१७ यताकै सबैभन्दा न्यून (४५ लाख टन) बिन्दुमा झर्ने देखिएपछि भारतले महँगी नियन्त्रण गर्न यो कदम चालेको हो ।

भारतको यो आन्तरिक बाध्यताको प्रत्यक्ष मार भने नेपालको अर्थतन्त्र र उद्योग क्षेत्रमा पर्ने निश्चित छ । यद्यपि, नेपाली उद्योगीहरुसँग हाल पर्याप्त मौज्दात (स्टक) रहेका कारण बजारमा तत्कालै हाहाकार मच्चिने वा मूल्यवृद्धि भइहाल्ने अवस्था भने नरहेको सरोकारवालाहरु बताउँछन् । नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको र मूल्य नबढाइएको जानकारी गराएको छ । संघका अनुसार चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आई करिब १ लाख ९० हजार ८७० मेट्रिक टन चिनी उत्पादन भएको छ । उत्पादनमध्ये केही नगन्य मात्रामा मात्र बिक्री भएको र हालसम्म करिब १ लाख ८ हजार मेट्रिक चिनी उद्योगमै मौज्दात रहेको संघले जनाएको छ । बजारमा व्यवसायीहरूसँग अनुमानित २० हजार मेट्रिक टन चिनी मौज्दात छ ।

विराटनगरका उद्योगी सगुन बोहोराका अनुसार भारतमा बेमौसमी वर्षा र मौसमको प्रतिकूलताका कारण उखु उत्पादनमा ठूलो गिरावट आएकाले भारत निर्यात रोक्न बाध्य भएको हो । यसको असर नेपालमा पनि दीर्घकालीन रुपमा पर्ने उनी बताउँछन् । ‘यो पाली इन्डियाको क्रप (उखु बाली) साइज अलिकति कम आयो । लास्ट टाइम भन्दा इन्डियाको क्रप साइजमा फरक छ, इन्डियाको उत्पादनमा कमी छ । अनसर्टेन (बेमौसमी) पानी परेर धेरै ठाउँमा किसानको बाली खराब भयो, यो यसकै नकारात्मक प्रभाव हो,’ उनले भने ।

चालु आर्थिक वर्षको हालसम्म नेपालमा करिब ६०–७० हजार मेट्रिक टन चिनी आयात भएको बताइएको छ । भारतले निर्यात रोके पनि नेपालमा तत्कालै चिनीको अभाव भने नहुने उद्योगीहरु पनि बताउँछन् । पर्याप्त स्टक राखेका कारण आगामी दशैंसम्म बजार स्थिर रहने उनीहरुको भनाइ छ । तर, दशैं र चाडबाडको समय आउने बेलासम्ममा चिनीको अभाव हुनसक्ने विष्कुट उद्योगी महेश जाजु बताउँछन् ।

उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन सारडा नेपालमा अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘नेपालमा जति चिनी आवश्यक पर्छ, त्यति चिनी त हाम्रो यहाँ उत्पादन हुँदैन । अब यसको असर त पर्छ । तर, कति स्टक छ भन्ने कुरा हो, तत्काल त नपर्ला किनभने ५–६ महिनाको चिनी हाम्रा चिनी मिलले नै उत्पादन गर्छन् । अहिले २–३ महिना त असर गर्दैन, तर त्यसपछि के हुन्छ भन्न सकिँदैन,’ सारडाले भने ।

यस कुरामा उद्योगी सगुन बोहोरा पनि सहमत छन् । ‘नेपालमा अहिलेसम्म दाम किन बढेको छैन भने, दुई–चार वटा ठूला चिनी मिल र उद्योगीहरुले कम्तिमा पनि एक–डेढ लाख टन चिनी स्टक गरेका छन् । उखु जस्तो कुरा क्रसिङ हुने भनेको तीन महिना मात्रै हो । तीन महिना स्टक गरेर यिनीहरुले आठ–नौ महिनाका लागि स्टक राख्नुपर्छ । अहिले नेपालका उद्योगीहरुसँग पर्याप्त चिनी स्टक छ । दशैंसम्मको स्टकमा रेटमा धेरै उतारचढाव आउँदैन,’ बोहोराले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत पनि चिनी उत्पादक संघको भनाइलाई उधृत गर्दै तत्काल संकट नरहेको बताउँछन् । ‘अहिले चिनी उत्पादक संघको अध्यक्षको जुन स्टेटमेन्ट आएको छ, त्यसअनुसार बजारको मागलाई धान्न सक्ने अवस्था छ । अब आउने ४ देखि ५ महिनाभित्रमा नयाँ उत्पादन (क्रसिङ) आउने कारणले गर्दाखेरि चिनीमा समस्या आउँदैन भन्ने कुरा उहाँहरुले गर्नुभएको छ,’ अध्यक्ष राउतले भने ।

तत्कालका लागि स्टकले धाने पनि नेपालको कुल माग र उत्पादनबीच ठूलो खाडल रहेकाले ६ महिनापछि उद्योगहरु गम्भीर संकटमा फस्ने निश्चित छ । विशेषगरी चिनीलाई मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गर्ने जुस, बिस्कुट, कन्फेक्सनरी र चकलेट उद्योगहरु सबैभन्दा बढी मारमा पर्ने उद्योगी महेश जाजु बताउँछन् ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत पनि नेपालको उत्पादनले उद्योगहरुलाई धान्नै नसक्ने बताउँछन् । ‘जुन हिसाबको माग छ, नेपालमा करिब २ लाख ५० हजार टनको माग (खपत) छ । त्यसमा १ लाख ५० हजार टन मात्रै स्वदेशी उत्पादन छ । बाँकी १ लाख टन त माग त छ नि ! स्वदेशी उत्पादनले धान्न पुगे पनि उद्योगलाई पर्याप्त रूपमा चाहिने चिनी पूरा गर्न सक्दैन । यसले आउने दिनमा उद्योगलाई चाहिने कच्चा पदार्थ (चिनी) नहुँदा उत्पादनलाई धेरै ठूलो असर पार्न सक्छ,’ राउतले भने ।

अध्यक्ष राउतका अनुसार चिनी अभाव भएमा स्वदेशमा ठूलो लगानीमा खुलेका उद्योगहरु बन्द हुने अवस्थामा पुग्नेछन् । ‘नेपालमा जुसको आयातमा ठूलो भन्सार दर भएको कारणले गर्दा नेपालमै जुस उद्योगहरू धेरै खुलेका छन् । सरकारले स्वदेशमै उत्पादन गर्ने भनेर दिएको नीति, यस्ता उद्योगहरु बन्द हुँदा भोलिका दिनमा सफल हुन नसक्ला । बिस्कुट उद्योगहरू पनि बन्द हुने अवस्थामा पुग्छन्,’ उनले भने ।

यता, उद्योगी बोहोराले भने हाल बजारमा जुस लगायतका वस्तुको माग नै घटेका कारण कच्चा पदार्थको खपत कम भइरहेको बताए । ‘छ महिनापछि समस्या हुन सक्छ, तर त्यसमा पनि डिपेन्ड गर्छ । आजको तारिखमा कच्चा पदार्थको कत्तिको खपत छ ? डाबर, पेप्सीको जस्ता उद्योगहरुको बिक्री घटेको छ, जसले गर्दा र–मेटेरियलको कन्जम्सन छैन । डिमाण्ड डबल भयो भने मूल्य बढ्ला, तर अहिलेको बेसिसमा हेर्दा ६ देखि ८ महिना पुग्ने गरी स्टक सबै चिनी मिलहरुसँग छ,’ बोहोराले भने ।

भारतबाट चिनी ल्याउन नपाएपछि नेपालका लागि एक मात्र विकल्प तेस्रो मुलुक (ब्राजिल, पाकिस्तान आदि) बाट आयात गर्नु हो । तर, तेस्रो मुलुकबाट आयात गर्दा लाग्ने चर्को भन्सार दर (ड्युटी) र ढुवानी भाडाले चिनीको मूल्य अत्यधिक महँगो पर्न जाने उद्योगीहरु बताउँछन् ।

उद्योगी बोहोरा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सुविधा नपाउँदा तेस्रो मुलुकको चिनी महँगो पर्ने बताउँछन् । ‘अहिले ब्राजिलबाट त आइपुग्दैन किनकि साफ्टामा माल मगाउँदा १० प्रतिशतको फाइदा पर्छ । ब्राजिल र पाकिस्तानबाट चिनी ल्याउँदा ४० प्रतिशत ड्युटी लाग्छ भने इन्डियाको ड्युटी ३० प्रतिशत छ । यो १० प्रतिशत ड्युटीको फरक ठूलो कन्साइनमेन्टमा ठूलै पर्छ,’ बोहोराले भने ।

यही विषयमा परिसंघका अध्यक्ष पवन सारडा अन्तर्राष्ट्रिय बजारमा ढुवानी खर्च बढेको र नेपाल सरकारले भन्सार नघटाएसम्म आयात गर्न नसकिने बताउँछन् । ‘सरकारले ड्युटी (भन्सार दर) घटाउँदैन । यिनीहरुले ड्युटी घटाउनुपर्छ तब मात्रै विदेशबाट ल्याउन पोसाउँछ । यसमा हामीले समयमै बुद्धि पुर्याइहाल्नु पर्छ । इन्टरनेशनल मार्केटमा के भाउ छ ? अहिले युद्ध चलिरहेको बेलामा धेरै जहाज धेरै एरियाबाट आउँदैन । जहाजको कस्ट (भाडा) पनि धेरै बढेको छ । कतिपय वस्तुको मूल्य बढेको छ,’ सारडाको भनाइ छ ।

संकट आउनुभन्दा अगाडि नै सरकारले तेस्रो मुलुकबाट चिनी आयात गर्न सहजीकरण गर्नुपर्ने र भन्सार दरमा भारी छुट दिनुपर्ने उद्योगीहरुको एकमुष्ट माग छ । भारतबाट सामान आउन केही दिन मात्र लाग्ने भए पनि तेस्रो मुलुकबाट आउन महिनौँ लाग्ने भएकाले अहिल्यै नीतिगत निर्णय हुनुपर्ने उनीहरुको भनाइ छ । परिसंघका अध्यक्ष सारडा भन्छन्, ‘सबैभन्दा पहिले त गभर्मेन्टको पोलिसी आउनुप¥यो । त्यो पोलिसी बिना त हामी कहीँ पनि केही गर्न खोज्न सक्दैनौँ । इन्डियाबाट माल आउँदाखेरि दुई–चार दिन वा हप्ता दिनमै पुग्छ । विदेशबाट आउँदा २–३ महिना लाग्छ । त्यसैले अहिले सही समय छ, हामीले यो विषयमा छलफल गरेर निकास निकाल्नुपर्ने हुन्छ ।’

महासंघका अध्यक्ष राजेन्द्र राउत पनि उद्योग जोगाउन भन्सार सहुलियतको विकल्प नभएको बताउँछन् । ‘स्वदेशी उत्पादन भएकै चिनी मात्रै खरिद गरेर उद्योग सञ्चालन गर्न र धान्न सक्ने अवस्था आउँदैन । त्यसैले यसलाई तेस्रो मुलुकबाट पनि आयात गर्न दिएर, यसको मूल्यमा लाग्ने भन्सार दरलाई केही समयका लागि सहुलियत दिनुपर्छ,’ राउत भन्छन्, ‘भन्सारमा सहुलियत दिएको खण्डमा उद्योगहरू सस्टेन हुन सक्छन् । यो प्रक्रियामा गएन भने उद्योगहरू बन्द गर्नुपर्ने वा आधा समय मात्र चलाउनुपर्ने अवस्था आउन सक्छ ।’

सरकारले समयमै तेस्रो मुलुकबाट हुने आयातमा भन्सार सहुलियत र सहज नीतिको व्यवस्था नगरे आगामी केही महिनाभित्रै नेपाली बजारमा चिनीको हाहाकार मच्चिने र हजारौँलाई रोजगारी दिइरहेका उद्योगहरु धरासायी हुने उद्योगी महेश जाजुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।