विराटनगर । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ । आज नेप्से १.७७ अंक (०.०६ प्रतिशत) ले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो ।
बजारमा सामान्य अंकको सुधार देखिँदा कारोबार भएका कम्पनीमध्ये १२७ वटाको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । २२ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
शुक्रबार १३ मध्ये ७ उपसूचक बढेका छन् भने ६ उपसूचक घटेका छन् । यद्यपि, कुनै पनि उपसूचकमा एक प्रतिशतभन्दा बढीको घटबढ देखिएन । आज दिनभरिमा ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ४३ हजार ६७४ पटक किनबेच हुँदा कुल ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको कारोबार भएको छ ।
परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ०.३४ अंकले बढेर ४६७.५५ मा पुगेको छ । फ्लोट इन्डेक्स १८५.३५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १५७.४९ बिन्दुमा कायम भएका छन् ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको ३० करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । त्यस्तै अपी पावरको ११ करोड ४४ लाख र रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक ७.७१ प्रतिशत नाफा कमाएका छन् । मोदी इनर्जी र राष्ट्रिय बीमा कम्पनीको मूल्यमा पनि बढोत्तरी देखियो । यता युनियन हाइड्रोपावर र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने केही गिरावट आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।