लोड हुँदैछ...

मेनु

निजी क्षेत्रमा ‘राज्य आतंक’ सिर्जना गरियो : इन्द्रबहादुर आङ्बो

निजी क्षेत्रमा ‘राज्य आतंक’ सिर्जना गरियो : इन्द्रबहादुर आङ्बो

विराटनगर । कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले निजी क्षेत्रमाथि ‘राज्य आतंक’ सिर्जना गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता आङ्बोले उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरूलाई पूर्वाग्रहपूर्ण ढंगले धरपकड गरेर लगानीको वातावरण बिगारिएको बताएका हुन्।

“व्यवसायीका कुरा पहिले सुन्ने अनि मात्रै कारबाही गर्ने प्रक्रिया हुनुपर्नेमा अहिले निजी क्षेत्रमा राज्य आतंक सिर्जना गरिँदैछ,” उनले भनेका छन्, “यसले देशमा लगानी गर्ने उत्साहलाई पूर्णतः समाप्त पार्दैछ।”

आङ्बोले सरकारले सुरुमा लिएको सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार कर र आयातित वस्तुमा अनिवार्य एमआरपी (MRP) को नीति पूर्ण रूपमा असफल भइसकेको दाबी गरे। सरकारले नवउदारवादी अर्थनीति अगाल्न खोजेको भन्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरे।

सरकारले अघि सारेको मध्यम वर्गको विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र १०० खर्बको अर्थतन्त्रको नारा केवल ‘आवरण’ मात्र भएको उनको टिप्पणी छ। “१०० खर्बको अर्थतन्त्र सरकारको बाहिरी आवरण मात्रै हो, यसको अन्तर्य बिस्तारै खुल्दै जानेछ,” पूर्वमन्त्री आङ्बोले उल्लेख गरेका छन्। उनले जथाभावी धरपकडले अर्थतन्त्रका खम्बाहरूलाई हतोत्साहित बनाएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।