विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामनासहित बिदाइ गरेको हो । कार्यक्रमको प्राविधिक व्यवस्थापन सास्थम कलेज, विराटनगरले गरेको थियो ।
कलेजका प्रिन्सिपल राजेश कार्कीका अनुसार व्यवस्थापन र होटल म्यानेजमेन्टका ५५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै प्रिन्सिपल कार्कीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अरनिको आवासीय स्कुलका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर कलेज र सहरकै गरिमा बढाउने विश्वास व्यक्त गरे ।
प्रिन्सिपल कार्कीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै कलेजमा सिकेको ज्ञान र अनुशासनलाई परीक्षा हलमा उच्च मनोबलका साथ प्रस्तुत गर्न आग्रह गरे । उनले विद्यार्थीहरूको मेहनतले नै अरनिको आवासीय स्कुललाई देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गरेको बताए ।
बिदाइ कार्यक्रममा अरनिको आवासीय सेकेण्डरी स्कुलका प्लस टु कोर्डिनेटर सुशील खनाल, सास्थम कलेजका क्याम्पस प्रमुख विनय विष्णु केसी, म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचएम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश लगायतको उपस्थिति रहेको थियो । उनीहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना दिए ।
लामो समयदेखि विराटनगरमा व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरनिको आवासीय सेकेण्डरी स्कुल यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।