इटहरी । सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन प्रक्रियाको विरोध गर्दै अभिभावकहरूले उपमहानगरपालिकामा धर्ना दिएका छन् ।
सोमबार इटहरी उपमहानगरपालिकाको मुख्य गेट अगाडि भेला भएका अभिभावकहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै नगर शिक्षा समितिको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
अभिभावकहरूको आरोप अनुसार विद्यालय व्यवस्थापन समिति अभिभावक भेलाबाट चयन हुनुपर्ने कानुनी व्यवस्था विपरीत नगर शिक्षा समितिले बाहिरबाट व्यक्तिलाई अध्यक्ष बनाएको हो । केही दिनअघि नगर शिक्षा समितिले दुई कार्यकाल अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई पुनः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेको थियो ।
अध्यक्ष चयनको निर्णय एकपक्षीय र प्रक्रिया विपरीत भएको भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले हाल गठन गरिएको विद्यालय व्यवस्थापन समिति तत्काल खारेज गर्नुपर्ने तथा अभिभावक भेलामार्फत नयाँ समिति चयन गर्नुपर्ने माग गरेका छन् ।
धर्नाका क्रममा अभिभावकहरूले विद्यालयमा पारदर्शी र सहभागितामूलक व्यवस्थापन आवश्यक रहेको भन्दै अभिभावकको अधिकारमाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।